एजेन्सी । नेदरल्याण्डको शीर्ष डिभिजनको फुटबल लिग रद्ध गरिएको छ ।
कोरोना भाईरसको महामारीका कारण अनिश्चित रुपमा स्थगित चालू सिजनको लिग रद्ध गर्ने निर्णय भएको हो ।
लिग रद्ध भएपछि उपाधि विजेता टिमको घोषणा हुने छैन । यस्तै, यस सिजन कुनैपनि टिम रेलिगेशनमा जाने छैनन् ।
कोरोनाका कारण सरकारले सेप्टेम्बर १ सम्म मुख्य प्रतियोगिता गर्न रोक लगाएको छ ।
डच फुटबलको सर्वोच्च निकाय केएनभीबीले चालू सिजन फुटबल खेल्न असम्भव भएकाले सो निर्णय गर्नुपरेको जनाएको छ ।
लिग तालिकामा अजाक्स शीर्ष स्थानमा थियो । समान अंक भएपनि गोल अन्तरका आधारमा अल्कमार दोस्रो स्थानमा रहेको थियो । प्रतियोगितामा ९ चरणका खेल हुन बाँकी थियो ।
लिग रद्ध भएपनि अजाक्स र अल्कमार दुवै टिम च्याम्पियन्स लिगको छनोट चरणमा जानेछन् ।
शीर्ष डिभिजनको लिग बढुवा र घटुवा दुवै नहुने भएपछि दोस्रो डिभिजनको लिग लिडर कम्बुरलाई ठुलो घाटा लाग्ने भएको छ । उसले प्लेअफ टिमसंग ११ अंकको अग्रता लिएको थियो ।
कम्बुरका प्रशिक्षक हेन्क डी जोनले ब्रोडकास्टर एनओएससंग कुराकानी गर्दै डच फुटबलको ईतिहासमा सबैभन्दा निराश क्षण महशुश गरेको टिप्पण गरेका छन् ।
कोरोनाबाट नेदरल्याण्डमा ४ हजार मानिसले ज्यान गुमाएका छन् ।
सन् १९५६ यता डच लिग च्याम्पियन टिमको टुङ्गो नलगाएर कहिल्यै रद्ध भएको थिएन ।