एजेन्सी । ईटालियन फुटबल संघले सिरि एको सिजन लम्ब्याउने निर्णय गरेको छ ।
कोरोना भाईरसको कारण प्रभावित बनेको सिरि ए लिगलाई फुटबल संघले अगष्ट २ सम्म लम्ब्याउने निर्णय गरेको हो ।
युरोपेली फुटबल महासंघ (यूईएफए)ले बिहिबार कोरोनाको महामारीका बीच युरोपका शीर्ष डिभिजनको लिग सम्पन्न गर्नुपर्ने धारणा राखेको थियो ।
‘युईएफएले सबै राष्ट्रिय संघलाई घरेलु प्रतियोगिता सक्नका लागि विकल्प प्रस्तुत गरेको छ । खेलाडी, दर्शक र फुटबलसंग जोडिएका सबैको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्न आवश्यक छ ।’ उसले भनेको छ ।
युईएफएको कार्यकारी समितिको अगाडी घरेलु प्रतियोगिता र युरोपियन प्रतियोगिता समानान्तर रुपमा सञ्चालन गर्न वा घरेलु प्रतियोगिता सकेर अगष्टमा युरोपियन प्रतियोगिता गर्ने प्रस्ताव राखिएको थियो ।
युईएफएले युरोपको प्रतियोगिता अगष्ट भित्र सक्ने गरि गृहकार्य गरिरहेको छ । युरोपका घरेलु प्रतियोगिता जुलाई भित्र सक्ने गरि तालिका बनाउन उसको आग्रह छ । केही हप्तामा युरोपियन फुटबल प्रतियोगिताको तालिका सार्वजनीक गर्ने युईएफएको तयारी छ ।
ईटालियन फुटबल संघका अध्यक्ष गाब्रियल ग्रेविनाले लिग सक्न अतिरिक्त समय दिने बिषयमा निर्णय भएको बताएका छन् । संघले कोरोनाका कारण जुन ३० मा सकिने लिगको सम्झौतालाई लम्ब्याउने निर्णय गरेको हो ।
ईटालीका सबै टिम मे ४ मा अभ्यासमा फर्कने अपेक्षा गरिएको छ ।