एजेन्सी । इटालियन क्लब साम्पडोरियाका पाँच खेलाडी कोरोना भाईरसबाट मुक्त भएका छन् ।
साम्पडोरियाले शुक्रबार आफ्ना खेलाडी कोरोना भाईरसबाट मुक्त भएको जनाएको छ ।
सिरी 'ए' क्लब साम्पडोरियाका पाँच खेलाडी र एक फिजियोलाई कोरोनाको संक्रमण देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनीहरु उपचारमा रहेका थिए ।
क्लबले आफ्ना खेलाडी मानोलो गाब्बियाडिनी, ओमार कोले, अल्बिन एक्डाल, एन्टोनियो ला गुमिना, मोर्टेन थ्रोस्बी र फिजियो एमेडियो बाल्डारी कोरोनाबाट पूर्ण रुपमा ठिक भएको जनाएको छ ।
कोरोनाको कारण सिरी 'ए' लिग अनिश्चितकालका लागि स्थगित गरिएको छ । यस सिजन युभेन्ट्स शीर्ष स्थानमा रहदा लाजियो दोस्रो स्थानमा रहेको छ ।
चीनबाट फैलिएको कोरोनाको कारण इटाली सर्वाधिक प्रभावित हुने राष्ट्र रहेको छ । इटालीमा २५ हजार बढी मानिसले ज्यान गुमाईसकेका छन् ।