एजेन्सी । इंग्लिस क्लब लिभरपुलका पूर्व डिफेन्डर डोमिनिक माटियो ब्रेन ट्युमर रोगबाट मुक्त भएका छन् ।
स्कटल्याण्डका पूर्व डिफेन्डर डोमिनिकले गत नोभेम्बरमा ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो ।
लिड्सको सेन्ट जेम्स अस्पतालमा उनको सफल शल्यक्रिया गरिएको थियो ।
४५ वर्षीय डिफेन्डर बुधबार सामाजिक संजाल ट्वीटरबाट आफु पूर्ण रुपमा ठिक भएको बताएका छन् ।
'हिजो मैले अस्पतालबाट फोन कल पाए । जसको लागि म पार्थना गर्दै थिए । मेरो मस्तिस्क स्क्यान स्पस्ट छ,' उनले लेखेका छन्, '६ महिनापछिको डर, तनाब, शल्यक्रिया र उपचार अहिले म स्वस्थ्य छु । यो असत्य महसुस गरेको छु ।'
उनले अस्पताल र चिकित्सकहरुलाई समेत धन्यवाद दिएका छन् ।
'सेन्ट जेम्स अस्पतालले मेरो जीवन बचायो । यो अविश्वसनीय थियो । धन्यबादले पुग्दैन,' उनले लेखेका छन् ।
सन् १९९३ देखि २००० सम्म डोमिनिकले लिभरपुलबाट खेलेका थिए । उनले लिभरपुलका लागि १ सय ७७ खेल खेलेका थिए ।
त्यसपछि उनी लिड्स युनाइटेड गएका थिए ।
उनले सन् २००९ मा खेल जीवनबाट सन्यास लिएका थिए ।