एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर राफायल डा सिल्भाले नेयमारमा नेतृत्व गर्ने क्षमता नरहेको बताएका छन् ।
ब्राजिलका पूर्व डिफेन्डर सिल्भाले पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डसँग मैदानमा नेतृत्व गर्ने क्षमता नभएको र धेरै कुरा सिक्नु पर्ने बताएका हुन् ।
ईएसपीएनसँग कुरा गर्दै सिल्भाले ब्राजिलका लागि नेयमार महत्वपूर्ण खेलाडी भएको तर उनले मैदानमा टिमको नेतृत्व गर्न धेरै सुधार गर्नु पर्ने बताए ।
'हामीलाई नेयमार चाहिन्छ । हामीलाई उनी धेरै चाहिन्छ । उनले मैदानमा धेरै कुरा सुधार गर्नु पर्नेछ । फुटबलरका लागि त्यो महत्वपूर्ण छ,' सिल्भाले भने, 'नेयमार लिडर हैनन् । ऊ लिडर हो भन्ने मलाई लाग्दैन । यो उनका लागि मात्र हैन । उनले धेरै राम्रो गर्न सक्छन । उ विश्वका उत्कृष्ट खेलाडी हो ।'
विश्वका सर्वाधिक महँगा खेलाडी नेयमारले ब्राजिललाई सन् २०१६ को रियो ओलम्पिकमा स्वर्ण दिलाउँदा महत्वपूर्ण भूमिका खेलेका थिए । तर, सिनियर टिमका लागि भने नेयमारले उत्कृष्ट खेल्न सकेका छैनन् ।

सन् २०१७ मा बार्सिलोनाबाट पीएसजी गएका नेयमार पछिल्लो समय बार्सिलोना फर्कने तयारीमा रहेका छन् । नेयमार अनुबन्धका लागि बार्सिलोनाले समेत चासो देखाएको छ ।
सिल्भाले नेयमारसँग सन् २०१२ को ओलम्पिक खेलेका थिए ।