एजेन्सी । नेदरल्याण्डको फुटबल संघले शीर्ष डिभिजनको घरेलु लिग स्थगित गर्ने तयारी गरेको छ ।
कोरोना भाईरसका कारण सरकारले मुख्य प्रतियोगितामा प्रतिबन्ध लम्ब्याएसंगै फुटबल संघ घरेलु लिगलाई अगाडी नबढाउने सोचमा पुगेको हो ।
कोरोना भाईरसको महामारीका कारण सरकारले सेप्टेम्बर १ सम्म मुख्य प्रतियोगिता संचालनमा प्रतिबन्ध लगाएको छ ।
अजाक्स र जानस्ट्रिक अल्कमारले डच लिगको उपाधि होडमा रहेका छन् । लिगको २६ चरणको खेल समाप्तिमा अजाक्सले गोल अन्तरका आधारमा अग्रता लिएको छ ।

डच फुटबलको प्रशासकिय निकाय केएनभीबीले बिज्ञप्ती निकाल्दै भनेको छ, 'चालु सिजनको प्रतियोगिता जारी राख्ने कुनै सोच छैन । तर अन्तिम निर्णय लिनु अघि युईएफएसंग परामर्श गरिनेछ ।'
युईएफएले मंगलबार मात्र कोरोना भाईरसका कारण युरोपका केही लिग रद्ध हुन सक्ने बताएको थियो ।
'सरकारको निर्णयमा आधारित रहेर केएनभीबीले युईएफएसंग परामर्श गर्नेछ । त्यसपछि आधिकारिक निर्णय हुनेछ ।' केएनभीबीको बिज्ञप्तीमा भनिएको छ ।
केएनभीबीले अहिलेसम्म प्रतियोगिता रद्ध गरेको छैन । किनकी कोरोनाका कारण क्लबहरुले वित्तिय संकट झेलिरहेका छन् ।
पछिल्लो अवस्थाका बिषयमा छलफल गर्न डच लिगका क्लबहरु शुक्रबार छलफलमा बस्दैछन् । कडा शर्तमा मैदान फेरी खुलेमा खेलाडीले प्रशिक्षण गर्न पाउने क्लबहरुले बताउँदै आएका छन् ।