साञ्चोकाे तलब बढाउने प्रस्ताव

एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले युवा फरवार्ड जाडोन साञ्चोलाई क्लबमै राख्ने तयारी गरेको छ ।
उसले साञ्चो क्लबमै बसेको खण्डमा प्रति सिजन थप ४ मिलियन पाउण्ड तलब बढाउन सकिने प्रस्ताव अघि सारेको छ ।
साञ्चोलाई म्यान्चेष्टर युनाईटेड लगायतका ईङ्लिस क्लबले अनुबन्धको प्रयास गरिरहेका छन् ।
ईङ्ल्याण्डका फरवार्ड यस समर ट्रान्सफरमा सय मिलियन पाउण्डमा क्लब छाड्न सक्नेछन् ।
जर्मनमा उत्कृष्ट सिजन बिताएका साञ्चोले यस सिजनमात्र १७ गोल गर्नुका साथै १९ गोलको अवसर सिर्जना गरेका थिए । सोही कारण डर्टमण्ड साञ्चोको तलबमा भारी रकम वृद्धि गर्दै बुन्डेशलिगामै राख्न चाहेको हो ।

म्यान्चेष्टर सिटीको एकेडेमीका खेलाडी साञ्चो विश्व फुटबलमा उदयमान युवा खेलाडीको रुपमा उदाएका छन् ।
सोही कारण डर्टमण्ड क्लब साञ्चोलाई गुमाउन चाहदैन । उसले साञ्चोका तलब प्रति सिजन ५ दशमलव २ मिलियन पाउण्डबाट बढाएर ८ दशमलव ७ मिलियन पाउण्ड बनाउने प्रस्ताव अघि सारेको छ ।
जसले साञ्चोलाई क्लबमा सर्वाधिक दोस्रो धेरै तलब बुझ्ने खेलाडी बनाउनेछ । कप्तान मार्कोस रिउसले सिजनको ९ दशमलव ६ मिलियन तलब बुझ्दै आएका थिए ।
ईङ्ल्याण्डका खेलाडीले गत बर्ष क्लबसंग नयाँ सम्झौता गर्दै सन् २०२२ सम्म डर्टमण्डमै बस्ने बताएका थिए ।
डर्टमण्डका सीईओ हेन्स जोआचिम वत्जकेले पछिल्लो महिना एक अन्तरवार्तामा कोरोना भाईरसको प्रकोप अगाडी समेत साञ्चोलाई क्लबमै राख्न आफुहरुले जोड गर्ने बताएका थिए ।
'कोरोनाको प्रकोप अगाडी समेत हामी साञ्चोलाई क्लबमै राख्न ईच्छा गरेको थियौ ।' उनले भनेका थिए, 'तर दिनको अन्तिममा खेलाडीले जे चाहन्छ, त्यसको सम्मान गर्नुपर्छ ।'












