एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका पूर्व स्टार जाभियर मासेरानोले आफुलाई ब्राजिलियन फरवार्ड नेयमार बार्सिलोना फर्कने विश्वास रहेको बताएका छन् ।
अर्जेन्टिनाका पूर्व मिडफिल्डर मासेरानोले आरएसी-१ सँग कुरा गर्दै आफुलाई नेयमार बार्सिलोना फर्कने आशा रहेको बताएका हुन् । उनले बार्सिलोनामा नेयमारलाई लियोनल मेस्सी र लुइस स्वारेजसँग खेलेको हेर्ने चाहना भएको समेत बताए ।
मासेरानोले सन् २०१४/१५ को च्याम्पियन्स लिगमा युभेन्ट्सविरुद्धको फाइनलमा तीन खेलाडीको प्रदर्शनबाट आफु प्रभावित रहेको समेत बताए ।
'बर्लिनमा तीन जना नेयमार, मेस्सी र स्वारेजले प्रभावकारी प्रदर्शन गरेका थिए । उनीहरुले हाम्रो खेलमा घातक धार थपिदिए । मलाई आशा छ कि नेयमार बार्सिलोना फर्किन्छन् र उनीहरूसँगै खेल्छन् । क्लब र समर्थकका लागि यो राम्रो हुनेछ,' उनले भनेका छन् ।
२८ वर्षीय नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए । चार वर्ष बार्सिलोनामा रहदा नेयमारले २ ला लिगा र एक च्याम्पियन्स लिग जितेका थिए । त्यस समय बार्सिलोनामा नेयमार, मेस्सी र स्वारेजको जोडीलाई 'एमएसएन' भनिने गरिन्थ्यो ।
पछिल्लो समय नेयमार बार्सिलोना फर्कने चर्चा चलिरहेको छ ।