एजेन्सी । ब्राजिली लिजेण्ड रिभाल्डोले बार्सिलोनाका लागि उसमान डेम्बेले बेच्ने समय आएको बताएका छन् ।
बार्सिलोनाले नेयमार र लौटारो मार्टिनेजलाई नयाँ सिजनका लागि अनुबन्धको तयारी गरिरहदाँ डेम्बेले भने क्लबको योजनाबाट बाहिर रहदै आएका छन् ।
स्पेनिस महारथी क्लबले कीर्तिमानी रकम खर्च गरेर डेम्बेलेलाई जर्मन क्लब बोरुसिया डर्टमण्डबाट अनुबन्ध गरेको थियो । नेयमार कीर्तिमानी मुल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लागेपछि बार्सिलोनाले महङ्गो मुल्यमा डेम्बेलेलाई नाउ क्यापमा उतारेको थियो ।
विश्व विजेता टिमका सदस्य रहेको डेम्बेलेलाई बार्सिलोनाले सम्भावना बोकेका युवा खेलाडीको रुपमा अनुबन्ध गरेको थियो । तर उनी बार्सिलोनामा फर्ममा देखिनै संघर्षरत रहे । चोटका कारण समेत उनले टिममा खासै प्रभाव जमाउन सकेनन् ।
विश्व विजेता रिभाल्डोले डेम्बेलेले आफ्नो क्षमता पुष्टि गर्न पर्याप्त समय पाएको भन्दै उनलाई बेच्ने सही समय आएको बताएका हुन् ।
उनले नेयमार फर्काउन र मार्टिनेजलाई अनुबन्ध गर्नेतर्फ बार्सिलोना अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।

'डेम्बेलेलाई बार्सिलोनाले करिब तीन बर्ष अघि अनुबन्ध गर्यो । उनी क्लबमा स्थापित हुन र आफुलाई प्रमाणीत गर्न धेरै समय हो । उनले आफ्नो क्षमता क्लबमा कहिल्यै देखाएनन् ।' रिभाल्डोले भने ।
'उनीसंग अझै प्रसस्त क्षमता छ । तर समर ट्रान्सफर बार्सिलोनाका लागि राम्रो अवसर हो । उनलाई बेचेर वा साटेर आफुले खोजेको खेलाडी अनुबन्ध गर्न बार्सिलोना अगाडी बढ्न पर्छ ।' उनले थपे ।
'उनी चोटका कारण समेत अभागी बने ।' रिभाल्डोले भने, 'चिजहरु आशा अनुसार हुन सकेन । तर उनी आफ्नो करियरलाई अर्को क्लबमा प्रमाणित गर्न सक्छन् । उनले उत्कृष्ट प्रर्दशन गर्दै पुन आत्मविश्वास बटुल्न सक्छन् ।'
बार्सिलोनाले नेयमार र मार्टिनेजलाई अनुबन्धको कोशिश गरिरहेको छ । सोही कारण डेम्बेलेले अर्को सिजन पहिलो टिममा मौका पाउन अझै संघर्ष गर्नुपर्ने रिभाल्डोको तर्फ छ ।
डेम्बेलेले बार्सिलोनका लागि ७४ खेलमा १९ गोल गरेका छन् । तर उनी टिममा स्थान बनाउन संघर्षरत रहदै आएका छन् ।