एजेन्सी । इंग्ल्यान्डका पूर्व मिडफिल्डर स्टेभेन जेरार्डले लिभरपुलका कप्तान जोर्डन हेण्डरसन युवाहरुको 'रोल मोडल' भएको बताएका छन् ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै लिभरपुलका पूर्व स्टार जेरार्डले हेण्डरसनको पछिल्लो कामहरुबाट आफु प्रभावित भएको बताउँदै युवाहरुका लागि उनी रोल मोडल रहेको बताएका हुन् ।
विश्वभर महामारीको रुपमा देखिएको कोरोना भाईरसविरुद्ध लड्न हेण्डरसनको नेतृत्वमा प्रिमियर लिगका खेलाडीले हालै च्यारिटी कोषको स्थापना गरेका थिए ।
नेसनल हेल्थ सर्भिसलाई सहयोग गर्ने उदेश्यले प्रिमियर लिगका खेलाडीहरु सम्मलित प्लेयर्स टुगेदर नामक कोष स्थापना गरिएको थियो ।
'उहाँ निकै निस्वार्थ व्यक्ति हुनुहुन्छ मैदान बाहिर र मैदान भित्र । म उनको टोलीले गरेको कामको प्रशंसा गर्छु । मलाई लाग्छ कि उसले अन्तिम दुई सातामा के गर्यो त्यसले मानव जीवनलाई जोड दिन्छ,' जेरार्डले भने, 'उनी धेरै युवा बच्चाहरुका लागि आदर्श व्यक्ति हुन् ।'
स्कटिस क्लब रेन्जर्सका प्रशिक्षक समेत रहेका जेरार्डले हेण्डरसनसँग लिभरपुलमा चार सिजन खेलेका थिए । इंग्ल्यान्डका मिडफिल्डर हेण्डरसन सन् २०११ मा एनफिल्ड आएका थिए ।
हेण्डरसनको कप्तानीमा लिभरपुलले गत सिजन च्याम्पियन्स लिग जितेको थियो । यस सिजन लिभरपुल प्रिमियर लिगको उपाधि नजिक रहेको छ । तर, कोरोनाको कारण लिग स्थगित रहेको छ ।
जेरार्डले हेण्डरसन उत्कृष्ट मिडफिल्डर रहेको समेत बताए । उनको नेतृत्व गर्ने क्षमता समेत रहेको बताए ।
'मलाई लाग्छ ऊ फुटबलको दृष्टिकोणबाट पनि राम्रो छ । ऊ एक उच्च श्रेणीका मिडफिल्डर बनेका छन् । खेलमा उनको प्रशंसा हुन्छ उनी बिल्कुलै योग्य छन्,' जेरार्डले भने ।