एजेन्सी । इटालीका पूर्व स्ट्राइकर मार्को सिमोनले एसी मिलानले माउरो इकार्डीलाई अनुबन्ध गर्नु पर्ने बताएका छन् ।
मिलानका पूर्व स्ट्राइकर सिमोनले क्लबको अग्रपंक्ति बलियो बनाउन इन्टर मिलानका फरवार्डलाई डर्बी क्लब मिलानले अनुबन्ध गर्नु पर्ने बताएका हुन् ।
मिलानबाट दुई पटक च्याम्पियन्स लिग विजेता सिमोनले इकार्डी क्लबमा ज्लाटन इब्राहिमोबीचको विकल्पमा हुने बताए ।
'यदि इब्राहिमोबीच गएभने मिलानमा स्ट्राइकरको अभाव हुनेछ । मलाई लाग्छ मिलिकले राम्रो गर्न सक्छ । तर, म काभानी र इकार्डीलाई मिलान ल्याउने प्रयास गर्ने थिए । यस समयमा इकार्डी उत्तम अनुबन्ध हुनेछ,' सिमोनले भने ।
स्विडेनका स्टार फरवार्ड इब्राहिमोबीच यसै सिजन क्लब आएका थिए । तर, इब्राहिमोबीचले सिजनको अन्त्यसँगै क्लब छाड्ने तयारी गरेका छन् ।
अर्जेन्टिनाका फरवार्ड इकार्डी अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट लोनमा खेलिरहेका छन् । यसै सिजन इन्टरले उसलाई पीएसजी पठाएको हो ।
म्यानचेस्टर युनाइटेडबाट रोमेलो लुकाकु अनुबन्ध गरेपछि इकार्डी पीएसजी गएका हुन् ।