एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका डिफेन्डर लुकास हर्नान्डेजले यस सिजनको च्याम्पियन्स लिग सम्पन्न गर्न सम्भव नभएको बताएका छन् ।
फ्रान्सको एक पत्रिकासँग कुरा गर्दै लुकासले कोरोनाको कारण एक देशबाट अर्को देशमा भ्रमण गर्न सम्भव नरहेको कारण च्याम्पियन्स लिग सम्पन्न गर्न कठिन भएको बताएका हुन् ।
'कोरोना प्रभावित सबै देशले च्याम्पियन्स लिगको चिन्ता व्यक्त गरेका छन् । लकडाउनको कारण यस अवस्थामा स्पेन, इटाली, इंग्ल्यान्ड वा फ्रान्स भ्रमण गर्न गार्हो हुनेछ,' उनले भने, 'हामी यथार्थपरक हुनुपर्दछ। मलाई लाग्छ कि यस समयमा च्याम्पियन्स लिगमा सम्पन्न गर्न असम्भव हुनेछ । यदि हामी घरेलु लिग समाप्त गर्न चाहन्छौं भने।'
विश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण च्याम्पियन्स लिग र युरोपा लिग अनिश्चित समयका लागि स्थगित गरिएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले अगस्टभित्र सक्ने तयारी गरेको छ । तर, च्याम्पियन्स लिगको सुचारु मिति युईएफएले सार्वजनिक गरिसकेको छैन ।
यस्तै लुकासले घरेलु लिग सम्पन्न गर्न समेत कठिन हुने बताए ।
'सबै लिगको अन्त्य गर्ने सम्भावना समेत कठिन भईरहेको छ,' उनले भने ।
लुकासको टिम वायर्नले भने सोमबारबाट प्रशिक्षण सुचारु गरिसकेको छ ।