एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब फुटबलकै सर्वाधिक लोकप्रिय लिग हो ।
प्रिमियर लिग खेल्नु विश्वका अधिकांस खेलाडीको सपना हुने गर्छ । प्रिमियर लिग फुटबलकै सर्वाधिक कठिन लिग समेत हो ।
खेलाडीसँगै प्रिमियर लिग क्लबलाई प्रशिक्षण गर्नु प्रशिक्षकहरुको समेत सपना हुने गर्छ । कतिपय प्रशिक्षक सफल हुन्छन् भने कतिपय असफल हुन्छन् ।
तर, प्रिमियर लिगमा केहि यस्ता प्रशिक्षक छन् जसले क्लबबाट लागि ठुला ठुला सफलता हात पारेका छन् । उनीहरु प्रिमियर लिग इतिहासकै उत्कृष्ट प्रशिक्षकमा चिनिने गर्छन् ।
इंग्लिस प्रिमियर लिगका उत्कृष्ट ५ प्रशिक्षकहरुको चर्चा तल गरिएको छ ।
१. सर एलेक्स फर्गुसन
स्कटिस प्रशिक्षक फर्गुसन प्रिमियर लिग फुटबलकै उत्कृष्ट प्रशिक्षक मध्ये शीर्ष स्थानमा आउने गर्छन ।
किनकी म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक फर्गुसनले जति सफलता प्रिमियर लिगमा अन्य प्रशिक्षकले कमै पाएका छन् । ७८ वर्षे फर्गुसनले करिन ३० वर्ष युनाइटेडको मुख्य प्रशिक्षक रहेर काम गरे ।

सन् १९८६ देखि २०१३ सम्म युनाइटेडको प्रशिक्षक रहदा उनले १३ प्रिमियर लिगको उपाधि दिलाए । त्यस्तै २ पटक च्याम्पियन्स लिग, ५ एफएकप र ४ पटक ईएफएल कपको उपाधि दिलाएका थिए ।
प्रिमियर लिगमा ११ सिजन प्रिमियर लिग म्यानेजर अफ दि इयर घोषित फर्गुसनले डेभिड बेकह्याम, वायन रुनी, क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडीलाई स्टार बनाएका थिए ।
२.जोसे मोरिन्हो
पोर्चुगिज प्रशिक्षक जोसे मोरिन्हो प्रिमियर लिगका सफल प्रशिक्षक मध्ये एक हुन् ।
हाल टोटेनहमका मुख्य प्रशिक्षक रहेका मोरिन्होले यस अघि चेल्सी र म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक भएर काम गरेका थिए ।
सन् २००४ मा पोर्टोलाई च्याम्पियन्स लिगको उपाधि दिलाएपछि चेल्सी आएका उनले क्लबलाई तीन सिजन प्रिमियर लिगको उपाधि दिलाएका थिए । यस्तै तीन पटक लिग कप, एक एक पटक एफए कप र कम्युनिटी शिल्डको उपाधि दिलाएका थिए ।

५७ वर्षीय मोरिन्होले युनाइटेडलाई लिगको उपाधि दिलाउन सकेनन् । तर, तीन सिजन क्लबमा रहदा उनले युनाइटेडलाई युरोपा लिग,ईएफएल कप र एफए कपको उपाधि दिलाएका थिए ।
स्पेसल वानको रुपमा प्रख्यात प्रशिक्षक मोरिन्होले स्पेनिस र इटालियन क्लबमा समेत सफल प्रशिक्षकको रुपमा रहेका थिए ।
३. आर्सेन वेंगर
फ्रान्सेली प्रशिक्षक आर्सेन वेंगर आर्सनलका पूर्व प्रशिक्षक हुन् । वेंगर अहिले प्रशिक्षक भूमिकामा छैनन् ।
वेंगर फिफाको ग्लोबल फुटबल डेभलपमेन्ट प्रमुखको रुपमा काम गरिरहेका छन् । तर, उनलाई प्रिमियर लिगमा उत्कृष्ट प्रशिक्षकको सूचीमा राखिने गरिन्छ ।
वेंगरले आर्सनलमा करिब २२ वर्ष विताएका थिए । सन् २०१८ मा उनले प्रशिक्षक छाडेका थिए ।

आर्सनलमा लामो समय बिताएका उनले क्लबका लागि ३ प्रिमियर लिगको उपाधि दिलाएका थिए ।
द प्रोफेसर नामले चिनिने ७० वर्षे वेंगर सन् १९९६ मा आर्सनल आएका थिए । उनले क्लबका लागि ७ पटक एफए कप जिताउँदा एक पटक क्लबलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्र्याएका थिए ।
४. पेप ग्वार्डीवाला
स्पेनिस प्रशिक्षक पेप् ग्वार्डीवाला पनि प्रिमियर लिगका उत्कृष्ट प्रशिक्षकमा पर्छन ।
म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक रहेका ग्वार्डीवाला सन् २०१६ मा क्लब आएका थिए । तर, उनले छोटो समयमै आफुलाई प्रिमियर लिगको उत्कृष्ट प्रशिक्षकको छाप बनाउन सफल भए ।
स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वायर्न म्युनिखका सफल प्रशिक्षक ग्वार्डीवालाले सिटीलाई सफलता दिलाए । ४९ वर्षे प्रशिक्षकले अघिल्ला दुई सिजन सिटीलाई लगातार प्रिमियर लिगको उपाधि दिलाएका थिए ।

यस्तै उनले क्लबका लागि तीन पटक ईएफएल कप, २ पटक कम्युनिटी शिल्ड र एक पटक एफए कपको उपाधि दिलाएका छन् ।
उनले बार्सिलोनाका लागि भने सर्वाधिक धेरै उपाधि जितेका थिए । दुई सिजन बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल ग्वार्डीवालाले तीन सिजन ला लिगाको उपाधि जितेका थिए ।
५. योर्गेन क्लोप
लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोप पनि प्रिमियर लिगका उत्कृष्ट प्रशिक्षकमा पर्ने गर्छन् ।
जर्मनीका ५२ वर्षे प्रशिक्षक सन् २०१५ मा लिभरपुल आएका थिए । जर्मन क्लब बोरुसिया डर्टमण्डमा सफलता चुमेपछि लिभरपुल आएका क्लोपले क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाईसकेका छन् । गत सिजन लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
क्लोपले लिभरपुललाई लिगको उपाधि भने दिलाउन सकेका छैनन् । तर, यस सिजन लिभरपुल प्रिमियर लिगको उपाधि नजिक रहेको छ ।

कोरोना भाईरसको कारण लिग स्थगित हुनु अघि लिभरपुलले लिगमा फराकिलो अग्रता बनाएको छ । लिभरपुलले पछिल्लो ३० वर्षयता प्रिमियर लिगको उपाधि जित्न सकेको छैन । तर, यस सिजन क्लोपको नेतृत्वमा रहेको लिभरपुल उपाधिको संघारमा रहेको छ ।
यस्तै उनले क्लबलाई फिफा क्लब विश्वकप फुटबल र युएईएफए सुपर कपको उपाधि दिलाईसकेका छन् ।