एजेन्सी । कोरोना भाईरसको महामारीको कारण एक वर्ष पछि सरेको युरोकप फुटबल युरोपको १२ देशको १२ शहरमै आयोजना हुने भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले सन् २०२१ मा हुने युरोकप १२ शहरमै हुने जनाएको छ । तर, आगामी वर्ष हुने युरोकपको नयाँ मिति भने तय भएको छैन ।
यस अघि सन् २०२० को युरोकप जुन १२ देखि जुलाई १२ सम्म हुने बताईएको थियो । तर, कोरोनाले युरोपको अधिकांस राष्ट्रमा महामारीको रुप लिएपछि प्रतियोगिता सारिएको हो ।
युईएफएका प्रवक्ताले एक वर्ष सारिएको युरोकप पुरानै मितिमा गर्ने तयारी भएको भएपनि मिति तय नभएको बताएका छन् ।
'युरोकप २०२१ को जुन ११ देखि जुलाई ११ को बीचमा उहिँ आयोजक शहरहरूमा गर्ने उदेश्य छ,' युईएफएका प्रवक्ताले स्काई स्पोर्ट्ससँग भने, 'यद्दपी खेल तालिका आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन। यूईएफए यस विषयमा १२ वटा आयोजक शहरहरूसँग सम्पर्कमा छ । केहि समयमा घोषणा गरिनेछ।'
यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, बिल्बाओ, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, डुब्लीन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ ।
प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका १२ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।