एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब साउथह्याम्पटनले आफ्नो खेलाडीको तलबको केहि प्रतिशत रोक्ने भएको छ ।
कोरोना भाईरसको महामारीको कारण जनाउँदै साउथह्याम्पटनले खेलाडीको तलबको केही अंश रोकिने जनाएको छ । यससँगै साउथह्याम्पटन प्रिमियर लिगमा खेलाडीको तलब रोक्ने पहिलो क्लब बनेको छ ।
खेलाडीसँगै क्लबको म्यानेजर, प्रशिक्षक, डिरेक्टरसहित अन्य कर्मचारीको समेत तलबको केही अंश रोकिने छ ।
साउथह्याम्पटनले बिहिबार कोरोनाको महामारीलाई मध्यनजर गर्दै क्लब सञ्चालक, टिम म्यानेजर, कोचिङ स्टाफ र खेलाडीको अप्रिल, मे र जुन महिनाको तलबको केही अंश रोकिने जनाएको छ । तलबको केही अंश रोक्ने निर्णयमा सबैले सहमति जनाएको समेत क्लबले जनाएको छ ।
तलबको कति प्रतिशत रोकिने भनेर केहि खुलाईएको छैन । तर, क्लबले कम्तिमा १० प्रतिशत तलब रोक्का गर्ने निर्णय गरेको गार्जियनले जनाएको छ ।
यसअघि प्रिमियर लिग क्लबले आफ्नो खेलाडीलाई ३० प्रतिशत तलब कटौतीका लागि आग्रह गरेको थियो ।