एजेन्सी । ब्राजिली स्टार नेयमार र अर्जेन्टिनी स्टार लौटारो मार्टिनेजलाई भित्र्याउन बार्सिलोनामाथि दबाब थपिएको छ ।
बार्सिलोनाका स्टार लुईस स्वारेजले नेयमार र मार्टिनेज जस्ता खेलाडीलाई क्लबमा सधै स्वागत गर्ने बताएका छन् ।
नेयमार र मार्टिनेज पछिल्लो समय बार्सिलोनासंग जोडिएका छन् । क्लबले दुवै खेलाडीलाई समर ट्रान्सफरमा अनुबन्ध गर्न चाहेको छ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार नेयमार गत सिजनबाटै स्पेन फर्कन चाहेका छन् । ईन्टर मिलानका सुखद सिजन बिताएका मार्टिनेजलाई समेत बार्सिलोनाले चासो देखाईरहेको छ ।
जसलाई बार्सिलोनामा लुईस स्वारेजको विकल्पको रुपमा हेरिएको छ । स्वारेजको बार्सिलोनासंग अब मात्र एक बर्षको सम्झौता बाँकी छ ।
कोरोना भाईरसका कारण केही महत्वपूर्ण सरुवालाई समस्या पार्न सक्नेछ । तर स्वारेजले नेयमार र मार्टिनेज जस्ता प्रतिभावान खेलाडी बार्सिलोनामा प्रभाव छाड्न पर्याप्त रहेको धारणा राख्छन् ।
'खेलाडीको बिषयमा बोल्न कठिन छ । विश्वकै अवस्था गतिलो छैन । हरेक कुरा जटिल बनेको अवस्था छ ।' स्वारेजले एक अन्तरवार्तामा भनेका छन्, 'तर खेलाडीको बिषयमा कुरा गर्दा, उनीहरु निकै ठुला खेलाडी हुन् । नेयमारको बिषयमा सबै जानकार छन् । निर्विकल्प रुपमा उनलाई ड्रेसिङ रुममा स्वागत गरिनेछ । उनीसंग अझै धेरै चिज बाँकी छ । उनको स्नेह सधै रहेको छ ।'
'लौटारो ईटालीमा राम्रोसंग विकास भएका छन् ।' अर्जेन्टिनी फरवार्डको प्रशंसामा स्वारेजले भनेका छन् ।
'कसैको आगमनले एक जनाले असहज महशुश गर्नुपर्ने कारण छैन । क्लबले सधै राम्रो खेलाडी चाहन्छ । जसले क्लबको उद्धेश्य पुरा हुन सहयोग पुग्छ । क्लब जस्तै कुनैपनि खेलाडी सबै चिज जित्न चाहन्छ ।' स्वारेजले थपेका छन् ।
मार्टिनेजलाई बार्सिलोनामा स्वारेजको विकल्पको रुपमा हेरिएको छ ।
'कोही खेलाडी आफ्नो स्थानका लागि लड्न आउछ भने उसको सधै स्वागत गर्न पर्छ । यसले सधै राम्रो गर्छ । यसले टिमलाई मजबुत गर्छ ।' उनले भनेका छन् ।
कोरोनाका कारण स्वारेजसंग बार्सिलोनाको छलफल अघि बढ्न सकेको छैन । सोही कारण बार्सिलोनामा स्वारेजको भविष्य अनिश्चित देखिएको छ ।