एजेन्सी । जर्मन क्लब वायर्न म्युनिखका अध्यक्ष हर्बर्ट हेनरले स्ट्राइकर थोमस मुलर क्लबको प्रतीक भएको बताएका छन् ।
अध्यक्ष हर्बर्टले म्युनिख शहरको चिनारीको रुपमा रहेको ओक्टेबरफेस्ट फेस्टिभल जस्तै मुलर पनि क्लबको प्रतीक भएको बताएका हुन् ।
जर्मनीका विश्वकप विजेता मुलरले मंगलबार वायर्नसँग दुई वर्ष क्लबमा रहनेगरि सम्झौतामा नवीकरण गरेका थिए ।
'यो अवश्य पनि धेरै राम्रो समाचार हो र मैले यो सुन्दा अत्यन्तै खुशी भएको छु,' अध्यक्ष हर्बर्टले भने, 'थोमस मुलर नायक हुन् । वायर्न म्युनिखका प्रतीक । उनले फुटबल खेल्ने अधिकांस समय यहाँ बिताए ।'
मुलरले सम्झौता सकिन एक वर्ष बाँकी रहदै क्लबसँग नवीकरण गरेका थिए । सम्झौतासँगै मुलर सन् २०२३ सम्म क्लबमा रहनेछन् ।

३० वर्षे मुलर सन् २००९ मा वायर्न आएका थिए । उनले क्लबका लागि ५०० बढी खेल खेलेका छन् । उनले बुन्डेस लिगामा १ सय १६ गोल गरिसकेका छन् ।
'मुलर वायर्नका लागि जति महत्वपूर्ण छन् । ओक्टेबरफेस्ट म्युनिखका लागि छ,' अध्यक्ष हर्बर्टले थपे ।
मुलर जर्मनीले सन् २०१४ मा विश्वकप जित्दा टिमका मुख्य खेलाडी थिए ।