एजेन्सी । युरोपियन क्लब फुटबलमा धेरै स्टार खेलाडी छन् । जसमा बार्सिलोनाका स्टार लियोनल मेस्सी र युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो सर्वाधिक चर्चामा हुने गर्छन ।
तर, पछिल्लो समय मेस्सी र रोनाल्डोको युग सकिदै गएको छ । दुवै खेलाडीको उमेर पाको भएसँगै खेल समेत खस्किदै गएको छ । त्यसैले पछिल्लो समय मेस्सी र रोनाल्डोकै स्तरमा पुग्ने युवा खेलाडीको चर्चा सुरु भईसकेको छ ।
मेस्सी र रोनाल्डोको अभावलाई पूर्ति गर्न सक्ने युरोपका तीन युवा खेलाडीको चर्चा तल गरिएको छ । किनकी उनीहरुको उमेर भन्दा खेल परिपक्क देखिदै आएको छ ।
१. केलियन एमबाप्पे
फ्रान्सका एमबाप्पे मात्र २१ वर्षका भए । तर, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि उनी परिपक्क स्ट्राइकरमा पर्छन ।
सन् २०१८ मा फ्रान्सले विश्वकप फुटबलको उपाधि जित्दा उनले केहि खेलमा निर्णायक गोल गरेका थिए । उनी पेलेपछि विश्वकपको फाइनलमा सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी बनेका थिए ।

पीएसजीका फरवार्ड एमबाप्पे युरोपियन लिगमा कम उमेरमै चर्चित छन् । उनले यस सिजन क्लबका लागि २० लिग खेलमा १८ गोल गरेका छन् । जसमा ७ गोलका लागि पास उपलब्ध गराएका छन् ।
च्याम्पियन्स लिगमा यस सिजन ५ गोल र ५ एसिस्ट गरिसकेका छन् ।
बल कन्ट्रोल, ड्रिबलिङ र पेसमा उनी उत्कृष्ट मानिन्छन् । त्यसैले उनलाई लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो पछिका स्टार मानिएको छ ।
२. अर्लिङ हालाण्ड
नर्वेजियन फरवार्ड हालाण्ड पछिल्लो सिजन चर्चामा छन् । कारण उनको प्रदर्शनकै कारण हो ।
हालाण्ड मात्र १९ वर्षका भए । तर, जर्मन क्लब बोरुसिया डर्टमण्डका लागि उनी परिपक्क खेलाडी हुन् ।
यसै सिजनको जनवरीमा डर्टमण्ड आएका उनले १४ खेलमा १६ गोल गरिसकेका छन् । त्यसैले उनी बुन्डेस लिगामा चर्चाका पात्र बनिरहेका छन् ।

अस्ट्रियन क्लब साल्जवर्गबाट डर्टमण्ड आएका उनले यस सिजन च्याम्पियन्स लिगमा १० गोल गरिसकेका छन् ।
युवा अवस्थामै अद्भुत प्रदर्शन गरिरहेका हालाण्डलाई पछिल्लो पुस्ताका स्टार खेलाडीको रुपमा हेरिएको छ ।
३. लाउटारो मार्टिनेज
अर्जेन्टिनाका फरवार्ड मार्टिनेज पछिल्लो सिजन निकै चर्चामा छन् । प्रदर्शन र ट्रान्सफर हल्लाको कारण २२ वर्षे फरवार्ड विश्व बजारमा छाएका छन् ।
इटालियन क्लब इन्टर मिलानमा सनसनी प्रदर्शन गरिरहेपछि ठुला क्लबले उनलाई नजर लगाएको छ । तर, उनले इन्टरमै बस्ने बताईरहेका छन् ।

यस सिजन उनले इटालियन सिरी 'ए' मा ११ गोल र ३ असिस्ट गरेका छन् । यस्तै च्याम्पियन्स लिगमा ५ गोल गरेका छन् ।
उनलाई अनुबन्धको लागि बार्सिलोनाले निकै चासो देखाएको छ । बार्सिलोनाले उनलाई लुइस स्वारेजको विकल्पको रुपमा हेरेको छ ।