एजेन्सी । युरोपियन फुटबल महासंघ (युईएफए) का अध्यक्ष एलेक्जेन्डर सेफरिनले कोरोना भाईरसको कारण प्रिमियर लिगको सिजन नसकिए उपाधि लिभरपुललाई दिनु पर्ने बताएका छन् ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको कारण लिग अप्रिल ३० सम्म स्थगित गरिएको छ । कोरोनाको महामारी नियन्त्रण भन्दा बाहिर गईरहेको कारण बाँकी लिग खेल हुने नहुनेमा अन्योलता रहेको छ ।
त्यसैले लिग रद्द भए शीर्ष स्थानको हैसियतले उपाधि लिभरपुललाई दिनु उचित हुने अध्यक्ष सेफरिनको भनाई छ ।
'लिभरपुललाई उपाधि बिना राख्न मैले अरु उपाय देखेको छैन,' स्लोभानियाको एक दैनिक पत्रिकासँग कुरा गर्दै उनले भने, 'यदि खेल हुन्छ भने पक्कै उनीहरुले जित्नेछन् । सैदान्तिक रुपमा उनीहरु पुगेका छैनन् तर व्यावहारिक रूपमा नजिक छ ।'

यस सिजन लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २५ अंकले अघि रहेको छ । र, यस सिजन लिभरपुललाई ऐतिहासिक उपाधि जित्ने अवसर रहेको छ ।
'यद्दपी खेल सकिएन भने अन्य तरिकाले विजेता घोषणा गर्नु पर्ने आवश्यकता हुन्छ । त्यसपछि च्याम्पियन निर्धारण गर्नुपर्छ। र, पक्कै पनि म लिभरपुल नभएको दृश्य देख्दिन,' उनले भने ।
कोरोनाको कारण प्रभावित हुने राष्ट्रमा इंग्ल्यान्ड पनि रहेको छ । त्यसैले इंग्ल्यान्डको फुटबल गतिविधि थप लम्बिने सम्भावना रहेको छ ।