एजेन्सी । लिभरपुलका डच डिफेन्डर भिर्गिल भान डाईकले आफु क्लबको लिजेण्ड बन्न चाहेको बताएका छन् ।
स्पेनिस मिडिया आउटलेट स्पोर्ट्ससँग कुरा गर्दै डाईकले लिभरपुलको सधै सम्झिरहने लिजेण्ड खेलाडी बन्न चाहेको बताएका हुन् ।
उनले लिभरपुलसँग प्रिमियर लिगमा आफ्नो प्रभुत्व जमाउने क्षमता रहेको र क्लबका लागि धेरै उपाधि जित्दै लिजेण्ड खेलाडीको रुपमा रहने बताएका हुन् ।
'लिभरपुलको लिजेण्डको रुपमा म यहाँ अविश्वसनीय चीजहरू प्राप्त गर्न चाहन्छु,' उनले भनेका छन् ।
२८ वर्षे डिफेन्डर डाईक सन् २०१८ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए । उनका लागि लिभरपुलले क्लबको कीर्तिमानी मूल्य ७५ मिलियन खर्च गरेको थियो ।
'हामीसँग उत्कृष्ट टिम छ । हामीसँग कुनै कुराको अभाव छैन । जित्नको लागि आवश्यक सबै उपकरणहरू छन् । प्रशिक्षकले एक उत्कृष्ट टिमको पहिचान गर्छन । जसले जित निकाल्छ । समर्थकले एक भूमिका खेल्छ,' डाईकले भने, 'म त्यस्ता खेलाडीहरू मध्ये एक हुन चाहन्छु जो निवृत्त भएर एनफिल्डमा फर्कन्छु। म क्लबको लिजेण्डको रुपमा रहन्छु ।साँच्चिकै म ठूलो परिवारको हिस्सा भएको महसुस गर्छु।'

गत सिजन लिभरपुलले च्याम्पियन्स लिग जित्दा डाईक टिमका मुख्य खेलाडी र नायक थिए । यस सिजन लिभरपुल प्रिमियर लिग उपाधि नजिक रहेको छ । तर, कोरोना भाईरसको कारण लिग अनिश्चित कालका लागि स्थगित गरिएको छ ।
डाईकले हालसम्म प्रिमियर लिगमा १ सय ४८ खेल खेलेका छन् । जसमा १२ गोल गरेका छन् ।
