एजेन्सी । ब्राजिलियन लिजेण्ड जिकोले यस सिजन एट्लान्टा च्याम्पियन्स लिगको फाइनलमा पुग्ने बताएका छन् ।
इटालियन क्लबले प्रभावशाली प्रदर्शन गरिरहेको बताउदै जिकोले फाइनल पुग्ने टिममा आफुले एट्लान्टालाई हेरेको बताए ।
'म भन्छु एट्लान्टा । तिनीहरूले उत्कृष्ट फुटबल खेल्छन् । धेरै बलियो छ र तिनीहरूलाई फाइनलमा पुग्ने देखेको छु,' जिकोले ला गजेटा डेल्लो स्पोर्ट्सलाई भने, 'एट्लान्टालाई हराउन धेरै गाह्रो छ । म्यानचेस्टर सिटीले यो महसुस गरेको छ ।'
यस सिजन एट्लान्टा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगिसकेको छ । अन्तिम १६ मा एट्लान्टाले स्पेनिस क्लब भ्यालेन्सियालाई समग्रमा ८-४ गोल अन्तरले हराएको थियो ।
यस्तै जिकोले लिभरपुललाई हराएको एट्लेटिको मड्रिड पनि राम्रो टिम रहेको बताए । एट्लेटिकोले अन्तिम १६ मा लिभरपुललाई समग्रमा ४-२ ले हराएको थियो ।
'एक महिनाअघि लिभरपुलले च्याम्पियन्स लिग जित्ने देखेको थिए तर, चाडै आउट भयो,' उनले भने, 'डिएगो सिमोनको एट्लेटिको मड्रिड पनि फाइनलको उम्मेदवार टिम हो ।'
कोरोना भाईरसको महामारीको कारण च्याम्पियन्स लिग अनिश्चित कालका लागि स्थगित गरिएको छ ।