एसियन कप फुटबल आयोजनामा भारतको दाबी एजेन्सी । भारतले सन् २०२७ मा हुने एएफसी एसियन कप फुटबल प्रतियोगिता आयोजनामा दाबी पेश गरेको छ ।
अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)का एक अधिकारीले एसियाली स्तरको सबै भन्दा ठुलो प्रतियोगिता आयोजनामा भारतले दाबी पेश गरेको पुष्टि गरेका छन् ।
भारतको दाबीमा सहमती जुटेमा दक्षिण एसियाली राष्ट्रयमा एसियन कप फुटबलको आयोजना गर्ने भारत पहिलो देश बन्नेछ ।
एआईएफएफका महासचिव कुशल दासले भारतको प्रिमियर न्युज एजेन्सी पीटीआईसंग भनेका छन्, ‘हामी पहिल्यै एएफसीको समक्ष दाबी पेश गरिसकेका छौ । अहिले समेत यसैको अवश्यकता छ ।’
कोरोना भाईरसको महामारीका कारण प्रतियोगिता आयोजनामा दाबी पेश गर्ने समय मार्च ३१ बाट बढाएर जुन ३० सम्म गरिएको छ ।
एएफसीले भनेको थियो, ‘एएफसीलाई चाँडै प्रतियोगिता आयोजनाको देश घोषणा गर्ने आशा थियो । जसले चार बर्षमा हुने एसियाली महाद्वीपको सबै भन्दा ठुलो प्रतियोगिता आयोजनाका लागि धेरै समय मिल्ने थियो । संयुक्त अरब ईमिरेट्समा सन् २०१९ मा भएको प्रतियोगितामा २४ राष्ट्रले भाग लिएका थिए ।’
एएफसीले अर्को बर्षको सुरुवातमै आयोजक देशको नाम घोषणा गर्ने सम्भावना छ । भारत बाहेक साउदी अरबले अहिलेसम्म सन् २०२७ को एसियन कप फुटबल प्रतियोगिता आयोजनामा दाबी गरेको छ । साउदी अरबले तीन पटक प्रतियोगिताको उपाधि जितेको छ ।
भारतले यसअघि सन् २०२३ को एएफसी एसियन कप फुटबल आयोजनाको दाबी पेश गरेको थियो ।
तर सन् २०१८ को अक्टोबरमा भारत आयोजनाको दौडबाट बाहिरिएको थियो । लगत्तै थाईल्याण्ड र दक्षिण कोरियाले समेत नाम फिर्ता लिएका थिए । जसले गर्दा चीनले प्रतियोगिता आयोजनाको मौका पाएको थियो ।