एजेन्सी । प्रिमियर लिगका खेलाडीको तलब कटौतीको बिषयमा प्रिमियर लिगले प्रोफेसनल फुटबलर्स एसोसियसन (पीएफए) सँग छलफल गरेको छ ।
क्लबले खेलाडीलाई तलब कटौतीको प्रस्ताव गरेपछि प्रिमियर लिगले पीएफएसँग शनिबार छलफल गरेको हो । छलफलबाट प्रिमियर लिगले क्लब र खेलाडीसँग पुन: छलफल गर्ने निर्णय गरेको छ ।
भिडियो कलमार्फत शुक्रबार बसेको क्लबहरुको बैठकले खेलाडीलाई ३० प्रतिशत तलब कटौतीको प्रस्ताव गरेको हो ।
कोरोना भाईरसको महामारीको कारण क्लबलाई पर्ने आर्थिक संकटलाई मध्ये नजर गर्दै तलब कटौतीको प्रस्ताव गरेको थियो ।
यस्तै क्लबले कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिस (एनएचएस) लाई २० मिलियन पाउण्ड सहयोग गर्ने निर्णय गरेको थियो । त्यस्तै ईएफएल लिग र नेसनल लिग क्लबका लागि १ सय २५ मिलियन पाउण्ड सहयोग गर्ने निर्णय गरेको छ ।
कोरोनाको कारण स्पेन, इटाली लगायतका ठुला क्लबका खेलाडीले तलब कटौती गर्न राजी भईसकेका छन् ।
बार्सिलोना, रियल मड्रिड, युभेन्ट्स, वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड लगायतका खेलाडी तलब कटौतीका लागि राजी भएका छन् ।