एजेन्सी । ब्राजिलियन स्टार काकाले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये एकलाई छान्नु पर्दा आफुले मेस्सीलाई रोज्ने बताएका छन् ।
फिफाको च्यानलका लागि इन्स्टाग्रामबाट लाईभमा काकाले अहिलेको विश्व फुटबलमा दुवै सर्वश्रेष्ठ रहेको तर आफुले एकलाई रोज्नु पर्दा मेस्सी रोज्ने बताए ।
'मैले रोनाल्डोसँग खेलेको छु । ऊ वास्तवमै अचम्मका छन् तर म मेस्सीसँग जान्छु,' काकाले भनेका छन् , ' उहाँ एक प्रतिभाशाली, शुद्ध प्रतिभावान छन् । उनले खेल्ने तरिका अविश्वसनीय छ।'
सन् २००७ को बालोन डी'ओर विजेता काकाले रोनाल्डोसँग रियल मड्रिडमा सँगै खेलेका थिए ।
विश्व फुटबलमा मेस्सीले कीर्तिमानी ६ पटक बालोन डी'ओर जितेका छन् भने रोनाल्डोले पाँच पटक जितेका छन् । यी दुई खेलाडी मध्ये को उत्कृष्ट भन्नेमा सधै विवाद रहदै आएको छ ।
यस्तै काकाले रोनाल्डो एक मेसिनको रुपमा रहेको समेत बताए ।
'रोनाल्डो एक मेसिन हो। ऊ केवल शक्तिशाली र छिटो मात्र होइन । ऊ मानसिक रुपमा कडा छ,' काकाले भने, 'उनी जहिले पनि जित्न चाहन्छन् र खेल्न चाहन्छन् । सबैभन्दा अविश्वसनीय चीज त्यो हो ।'
काकाले फुटबलको इतिहासमा मेस्सी र रोनाल्डो दुवैलाई देख्न पाउनु नै आफुहरु भाग्यमानी भएको समेत बताए ।