एजेन्सी । वायर्न म्युनिखका मुख्य प्रशिक्षक हान्सी फ्लिकले क्लबसंग नयाँ सम्झौता गरेका छन् ।
अन्तरिम प्रशिक्षकको रुपमा काम गर्दैै आएका फ्लिकले बुन्डेशलिगा च्याम्पियन क्लबसंग सन् २०२३ सम्म बस्न सहमत बनेका हुन् । वायर्नले पूर्व मिडफिल्डरलाई क्लब सम्हाल्ने जिम्मेवारी दिएको हो ।
उनले मिडफिल्डरको रुपमा बार्यनबाट १ सय ४ खेल खेलेका थिए । उनले चोटका कारण सन् १९९३ मा खेलाडीको रुपमा सन्यास लिएका थिए ।
उनी वायर्न आउनु अघि जर्मनी टिमको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनले जोचिम लेउको नेतृत्वमा सन् २००६ देखि २०१४ सम्म सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।
५५ बर्षका प्रशिक्षक सिजनको सरुवातमा निको कोभाकको सहायकको रुपमा क्लबमा जोडिएका थिए ।
प्रर्दशनमा असन्तुष्ट बार्यनले गत नोभेम्बर ३ मा मुख्य प्रशिक्षक कोभाकलाई बर्खास्त गरेको थियो । लगत्तै बार्यनले सहायक फ्लिकलाई अन्तरिम प्रशिक्षकको रुपमा सिजनको अन्तिमसम्म क्लब हेर्ने जिम्मेवारी दिएको थियो ।
उनले २१ खेलमा १८ मा जित निकालेको थिए । बार्यनका अध्यक्ष कार्ल हेनज रुम्मेनिगबाट प्रशंसा पाएका उनलाई क्लबले पूर्णकालिन प्रशिक्षकमा प्रस्ताव गरेको थियो ।
'उनको कामबाट क्लब धेरै खुसी छ ।' रुम्मेनिगले भनेका थिए ।
'उनको नेतृत्वमा टिमको विकास भईरहेको छ । हामीले आक्रमक फुटबल खेलिरहेका छौ । जसको प्रभाव नतिजामा समेत देखिएको छ ।' अध्यक्षको भनाई छ ।
बार्यन घरेलु लिग तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसंग चार अंकको अग्रता लिएको छ ।
कोरोना भाईरसको कारण बुन्डेशलिगा सहित युरोपेली फुटबल स्थगित छ ।