एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ब्राजिली फरवार्ड नेयमारलाई चेतावनी दिएको छ ।
खेल भावना विपरित क्रियाकलाप गरेको भन्दै पीएसजीले नेयमारलाई औपचारिक रुपमा चेतावनी दिदै सचेत गराएको हो ।
च्याम्पियन्स लिगको प्रि–क्वार्टरफाईनलको दोस्रो लेगमा बोरुसिया डर्टमण्डबिरुद्व गोल गर्ने क्रममा नेयमारले विपक्षी टिमका सदस्य इर्लिङ हाल्याण्डको नक्कल गरेर मजाक उडाएका थिए ।
डर्टमण्डबिरुद्व देखाएको सोही ब्यवहारलाई लिएर पीएसजीले औपचारिक रुपमा नेयमारलाई सचेत गराएको हो ।
प्रि-क्वार्टरफाईनलको दोस्रो लेगमा पीएसजीले डर्टमण्डलाई २–० ले हराएको थियो । जर्मन क्लबबिरुद्व गोल गरे लगत्तै नेयमारले हाल्याण्डको गोलको नक्कल गर्दै मजाक उडाएका थिए ।
घटनालाई लिएर युरोपेली फुटबल महासंघ (यूईएफए)ले पीएसजीलाई समेत चेतावनी दिएको छ ।

सो खेलमा नेयमारमाथि खराब फल गरेका इम्री कान ८९ औ मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।
घटनाको बिषयलाई लिएर क्लबले थप केही नोक्सानी ब्यहोर्नुपर्ने छैन । कोरोना भाईरसले प्रभावित बनेको सिजन बाँकी खेलको प्रतिक्षा भईरहेको छ ।
यूईएफएले क्लबलाई आर्थिक जरिवाना लगायतका अन्य कुनै कारबाही भने गरेको छैन ।
मार्च ११ मा खेलिएको सो खेलमा नेयमारले पहिलो गोल गरेका थिए । लगत्तै उनी डर्टमण्डको बेन्च अगाडी पुगेर १९ बर्षिया युवा स्टार हाल्याण्डको गोलको नक्कल गरेका थिए । पहिलो लेगको खेलमा पीएसजीबिरुद्व गोल गरे लगत्तै हाल्याण्डकै सोही सेलिब्रेसन गरेका थिए ।
खेल सकिए लगत्तै पीएसजीका सबै खेलाडी एक ठाउँमा जम्मा भएर सोही नक्कल गर्दै हाल्याण्डको मजाक उडाएका थिए ।
पीएसजीले क्वार्टरफाईनलको प्रतिद्वन्दी अहिलेसम्म प्राप्त गर्न सकेको छैन । प्रि–क्वार्टरफाईनलका अझै आधा खेल बाँकीनै छ ।