एजेन्सी । सिरि 'ए' क्लब युभेन्ट्सले ब्राजिली स्टार विलियन अनुबन्धमा चासो देखाएको छ ।
ईटालियन महारथी क्लब युभेन्ट्स प्रशिक्षक मौरिजियो सर्री र विलियनलाई पुन जोड्ने बिषयमा गम्भिर बनेको हो । युभेन्ट्स पूर्व दुई सहकर्मीलाई क्लबमा जोड्न चाहन्छ । सोही अनुसार विलियनको पछिल्लो गतिविधिलाई युभेन्ट्सले नियालिरहेको छ ।
ईटालियन प्रशिक्षकले ब्राजिली विङ्गर विलियनसंग चेल्सीमा संगै काम गरेका थिए ।
विलियनको चेल्सीसंगको सम्झौता आगामी समरमा सकिदैछ ।
ब्राजिली स्टार नयाँ गन्तव्यको बिषयमा अझै अन्यौलमा छन् । त्यही अन्यौलका बीच ब्राजिली स्टारलाई अनुबन्ध गर्ने सकिने युभेन्ट्सको अनुमान छ ।
विलियन अहिले ब्राजिलमा परिवारसंग बसिरहेका छन् । लण्डन क्लबसंग अनुमती माग्दै विलियन लकडाउनको समय परिवारसंग बस्न ब्राजिल पुगेका हुन् ।
कोरोना भाईरसको तनावका बीच चेल्सीसंग विलियनको छलफल अघि बढ्न सकेको छैन ।
प्रशिक्षक सर्रीसंग बिशेष सम्बन्ध भएका विलियनलाई ईटालियन क्लब ल्याउन सकिने युभेन्ट्सको विश्वास छ ।

सर्रीले प्रिमियर लिगको पहिलो सिजनमा विलियनसंग काम गर्ने मौका पाएका थिए । दुवै मिलेर चेल्सीलाई युरोपा लिगको विजेता बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
ब्राजिलमा रहेको विलियनले एक अन्तरवार्तामा भनेका छन्, 'सर्री राम्रा प्रशिक्षक हुन् । के हुन्छ, भन्न सकिदैन । उनी रणनीतिक रुपमा निकै राम्रा छन् । उनी राम्रो बल सहित सुन्दर खेल चाहन्छन् ।'
'सोही कारण हामीले युरोपा लिग जित्यौ । प्रिमियर लिगको तेस्रो स्थानमा रह्यौ । हामी भन्न सक्दैनौ, यो किन राम्रो हैन भनेर । नियमित रुपमा भन्नुपर्दा उनी शान्त व्यक्ती हुन् ।' विलियनले थपेका छन् ।
विलियनको बढ्दो उमेर क्लबलाई समस्या पार्न सक्छ । आगामी अगष्टमा उनी ३२ बर्षका पुग्दैछन् । चेल्सीमा उनको प्रर्दशनमा आधारमा समान शर्तमा दुई भन्दा बढी बर्षको सम्झौता गर्न क्लबलाई समस्या पर्न सक्नेछ ।
उनी सन् २०१३ मा लण्डन क्लब आएका थिए । उनले चेल्सीका लागि दुई प्रियिमर लिग, एक युरोपा लिग, एफ ए कप र लिग कप जिते ।
उनले यस सिजन सबै प्रतियोगितामा ३७ खेलमा अवसर पाएका थिए । उनले ७ गोल गर्नुका साथै ६ गोलको अवसर समेत सिर्जना गरेका थिए ।