ओजिल आर्सनलमै खुसी

एजेन्सी । आर्सनल स्टार मेसुट ओजिल लण्डन कलब आर्सनलमै रहने भएका छन् ।
पछिल्लो समय टर्किस क्लबसंग जोडिएका ओजिल प्रिमियर लिग क्लबले प्रतिबद्व देखिएका हुन् ।
एजेन्ट अर्कुट सोगटले ओजिल आर्सनलमै खुसी रहेको भन्दै चाँडै कुनै पनि क्लबमा आबद्व नहुने बताएका छन् ।
‘ओजिल आर्सनलमै खुसी छन् । उनले क्लब छाड्ने कुनै योजना बनाएका छैनन् ।’ सोगटले एक अन्तरवार्तामा भनेका छन् ।
३१ बर्षका ओजिल केही समय अघिमात्र टर्किस क्लब फेनरवाचसंग जोडिएका थिए ।
तर उनका एजेन्टले आर्सनलका प्लेमेकर लण्डन क्लबमा खुसी रहेको भन्दै क्लब छाड्ने बिषयको खण्डन गरेका हुन् ।
ओजिलले यस सिजन एक गोल गर्नुका साथै मात्र तीन गोलको अवसर सिर्जना गरेका छन् ।
आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाको योजनामा ओजिल रहेको-नरहेको बिषय स्पष्ट छैन । साप्ताहिक साढे ३ लाख पाउण्ड पाउने शर्त सहित आर्सनलसंग ओजिलको सम्झौता सन् २०२१ सम्म रहेको छ ।
तर ओजिलका एजेन्टले आगामी समर ट्रान्सफरमा आर्सनलका प्लेमेकर कतै नजाने बताएका छन् ।
उनले विश्वकप विजेता खेलाडी आर्सनलमै रहेर क्लबको लक्ष्य हासिलमा सहयोग पुर्याउने योजनामा रहेको दाबी गरेका छन् ।
‘फुटबलको बिषय कहिल्यै जानिदैन । सबैभन्दा पहिले खेलाडीको सरुवाको बिषय कहिल्यै अनुमान गर्न सकिदैन ।’ उनले भनेका छन्, ‘उनी आर्सनलमा खुसी छन् । र उनी लण्डन क्लबमै रहन्छन् ।’
‘क्लबसंग उनको सम्झौता बाँकी छ । त्यहाँ कुनै परिवर्तन भएको छैन ।’ उनले थपे ।
आर्सनल पछिल्लो समय बार्सिलोनाका खेलाडी उसमान डेम्बेलेसंग जोडिएको छ ।
चोटबाट पिरोलिएका डेम्बेलेलाई क्लब बाहिर पठाउँदै ब्राजिली स्टार नेयमारलाई बार्सिलोना अनुबन्धन गर्न चाहन्छ । नेयमार अनुबन्धनका लागि बार्सिलोनाले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)संग छलफल अघि बढाउने तयारी गरेको छ ।
डेम्बेलेका लागि आर्सनलले करिब ७० मिलियन पाउण्ड तिनुपर्ने हुन्छ । सो रकम लण्डन क्लबले अर्टेटाका लागि खर्च गर्ने सम्भावना कम छ । तर आर्सनलले बार्सिलोनालाई मनाउन सकेको खण्डमा डेम्बेले लोनमा लण्डन क्लब आउन सक्नेछन् ।