काठमाडौं । नेपाल क्रिकेट समर्थक समाज (एनसीएसएस) ले त्रिवि क्रिकेट मैदानमा लामो समयबाट काम गर्दै आएका जय बहादुर तामाङ (सेते दाइ) को उपचारका लागि ५० हजार आर्थिक सहयोग गरेको छ ।
मृगौला पीडित तामाङलाई आइतबार एनसीएसएसले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । तामाङको वीर अस्पतालमा उपचार भईरहेको छ ।
आर्थिक अभावका कारण उनको उपचारमा समस्या आएपछि क्रिकेट सम्बन्धित सबैले उनलाई सहयोग गर्दै आएका छन् ।
एनसीएसएसका अध्यक्ष विराज घिमिरेले तामाङको पत्नीलाई पहिलो चरणको ५० हजार सहयोग हस्तान्तरण गरे ।
आर्थिक सहयोग हस्तान्तरण गरेपछि बोल्दै अध्यक्ष घिमिरेले एनसीएसएस पैसा उठाउने मात्र नभएर सरोकारवाला निकायलाई समेत घच्घचाउने संस्था रहेको बताए ।

तामाङ करिब १५ वर्षबाट त्रिवि क्रिकेट मैदानमा ग्राउण्ड स्टाफको रुपमा काम गर्दै आएका छन् ।
एनसीएसएसले सामाजिक संजालबाट तामाङको उपचार खर्च सहयोग गर्न आह्वान गरेको थियो । र, सहयोग गर्न चाहने व्यक्तिले एनसीएसएसको खातामा रकम जम्मा गरेका थिए ।
समर्थकबाट उठेको रकमलाई पहिलो चरणमा एनसीएसएसले प्रदान गरेको हो । उठ्न बाँकी रहेको रकम समेत चाडै हस्तान्तरण गरिने बताईएको छ ।