एजेन्सी । लण्डन क्लब आर्सनलले मुख्य प्रशिक्षक मिकेल अर्टेटा कोरोना भाईरसको संक्रमणबाट मुक्त हुँदै गईरहेको जनाएको छ ।
आर्सनलले बिहिबार एक विज्ञप्ति निकाल्दै प्रशिक्षक अर्टेटा कोरोनाको संक्रमणबाट ठिक हुँदै गईरहेको जनाएको हो । यस्तै अर्टेटाले नियमित रुपमा खेलाडीसँग कुराकानी गर्दै आइरहेको र नयाँ योजनाहरु समेत बनाउन थालेको आर्सनलले जनाएको छ ।
'उनको मनोभाव राम्रो रहेको छ । उनले प्रशिक्षकसँग बृहत रुपमा योजनाहरु बनाईरहेका छन् । खेलाडीसँग नियमित कुराकानीमा छन्,' आर्सनलले भनेको छ, 'हामी यो भन्दा खुसी छौ कि मिकेलले धेरै राम्रो महसुस गरिरहेको छ।'
गत साता चेक जाँचको क्रममा अर्टेटालाई कोरोनाको लक्षण देखिएको थियो । कोरोना देखिएपछि उनी छुट्टै बसेर उपचार गराईरहेका थिए ।
यस्तै आर्सनलले क्लबको पहिलो टिमका खेलाडी, महिला खेलाडी र एकेडेमीका खेलाडी आफ्नै घरमै आइसोलेसनमा रहेको जनाएको छ ।
आर्सनलले कोरोनाको स्थिति नियन्त्रण भएपछि खेलाडीहरु प्रशिक्षणमा फर्कने जनाएको छ ।
चीनबाट फैलिएको कोरोनाको कारण प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित भएको छ ।