एजेन्सी । अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीका मालिक डेभिड बेकह्यामले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो लगायतका ठुला खेलाडी क्लबमा अनुबन्धित हुने बताएका छन् ।
इंग्ल्यान्डका पूर्व स्टार बेकह्यामले रोनाल्डो लगायतका ठुला खेलाडी अनुबन्धको प्रयास भईरहेको बताएका छन् ।
'हामीले निकट भविष्यमा इन्टर मियामीमा केहि ठूला नामहरू देख्ने छौँ,' बेकह्यामले भनेका छन्, 'सायद क्रिस्टियानो रोनाल्डो आउन सक्छन् ।'
विश्वमा एमएलएस लिगलाई आकर्षित गर्न ठूला खेलाडी अनुबन्ध गर्न लागिएको बेकह्यामको भनाई छ ।
म्यानचेस्टर युनाइटेड तथा रियल मड्रिडका पूर्व स्टार बेकह्यामले अन्य तीन साझेदारसँग मिलेर क्लब स्थापना गरेका हुन् ।
यसै सिजनबाट एमएलएसमा डेब्यु गरेको इन्टर मियामीले लिगमा भने खराब सुरुवात गरेको छ । सुरुवाती दुई खेलमा मियामी पराजित भईसकेको छ ।