एजेन्सी । लण्डन क्लब चेल्सीले जर्मन क्लब बार्यन म्युनिखबाट लोनमा खेलिरहेका फिलिप कौटिन्होलाई अनुबन्धनको ईच्छा देखाएको छ ।
स्पेनिस क्लब बार्सिलोनाबाट लोनमा बुन्डेशलिगा क्लब गएका कौटिन्होलाई अनुबन्धन गर्न चेल्सीले चाहना राखेको हो ।
खेलाडी सरुवा बजारमा दुई पटक प्रतिबन्ध भोगेको चेल्सीले आउँदो सरुवा बजारमा खर्च गर्न चाहन्छ ।
सो अवस्थामा ब्राजिली स्टार कौटिन्हो चेल्सीको रोजाईमा परेका हुन् ।
बार्सिलोनाले कौटिन्होका लागि ८४ मिलियन पाउण्ड रकम चाहेको छ । उनी अहिले लोनमा बार्यन म्युनिखबाट खेलिरहेका छन् ।
चेल्सी समेत कौटिन्होलाई लोनमा क्लबमा अनुबन्धन गर्न चाहन्छ । तर किन्ने सहितको शर्त समेत चेल्सीका लागि मन्जुर छ ।
प्रशिक्षक फ्रान्क लाम्पार्ड क्लबको मिडफिल्डमा राम्रो विकल्प तयार पार्न चाहन्छन् । सोही कारण स्टामफोर्डब्रिजमा कौटिन्होले प्रभाव छाड्न सक्ने लाम्पार्डको विश्वास छ ।

प्रिमियर लिग लिभरपुलका पुर्व स्टार कौटिन्हो कीर्तिमानी मुल्यमा स्पेनिस महारथी क्लब बार्सिलोना गएका थिए ।
बार्सिलोनाका ब्राजिली स्टार नेयमार विश्व कीर्तिमानी मुल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लागेपछि स्पेनिस महारथीले कौटिन्होलाई नेयमारको विकल्पको रुपमा क्लबमा अनुबन्धन गरेको थियो ।
तर स्पेनिस लिगमा कौटिन्हो प्रभाव देखाउन असफल रहे ।
अन्तिममा बार्सिलोनाले फ्रान्सेली स्टार एन्टोनी ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गर्दै कौटिन्होलाई बार्यनमा लोनमा पठाएको थियो ।