काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब बराबरीमा रोकिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा सातदोबाटो झम्सिखेल युथ क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता उल्टाएर सातदोबाटोले बराबरी खेलेको हो ।
खेलको दशौँ मिनेटमा भुवन राईको गोलबाट झम्सिखेलले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ७१ औं मिनेटमा सातदोबाटोका विरेन्द्र लिम्बुले गोल गर्दै टोलीलाई हारबाट जोगाए ।
बराबरीसँगै लिग लिडर सातदोबाटोले ६ खेलमा १६ अंक जोडेको छ । झम्सिखेलले ५ खेलमा ६ अंक जोडेको छ । झम्सिखेल नवौं स्थानमा रहेको छ ।
यस खेलसँगै बी लिग आगामी चैत १२ गतेसम्मको लागि स्थगित भएको छ । कोरोना भाईरसको संक्रमणलाई मध्येनजर गर्दै एन्फाले लिग स्थगित गरिएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।