काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल स्थगित गरेको छ ।
विश्वभर कोरोना भाईरस महामारीको रुपमा फैलिएपछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएपछि एन्फाले जारी 'बी' लिग स्थगित गरेको हो ।
एन्फाले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै 'बी' लिग आगामी चैत १२ गतेसम्मको लागि स्थगित गरेको जनाएको छ ।
'बी' लिगमा अहिले छैटौं चरणको खेलहरु संचालन भईरहेको छ ।
यस्तै एन्फाले सातदोबाटोमा रहेको एन्फा सचिवालय, धरान र बुटवलमा रहेको एन्फा एकेडेमी पनि बन्द गरिएको जनाएको छ ।