काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा ब्वाईज युनियन क्लब र रानीपोखरी कर्नर टिम आरसीटीले बराबरी खेल्दै अंक बाडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा ब्वाईज र आरसीटीले २-२ गोलको बराबरी खेलेको हो ।
ब्वाईजको लागि टंक बहादुर स्याङ्देन र प्रदिप बोगटीले एक एक गोल गरे । आरसीटीका अजित गुरुङ र नविन मान कर्माचार्यले एक एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा आरसीटीले बराबरी खेलेको हो । खेलको तेस्रो मिनेटमै अजितको गोलबाट आरसीटीले अग्रता बनाएको थियो ।
खेलको आठौं मिनेटमा ब्वाईजका कप्तान टंकले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो । तर, खेलको १४ औं मिनेटमा टंकले नै गोल गर्दै ब्वाईजलाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको २४ औं मिनेटमा नविनको गोलबाट ब्वाईजले २-१ को अग्रता बनायो । तर, खेलको ३५ औं मिनेटमा प्रदिपले गोल गर्दै खेल २-२ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीसँगै ब्वाईजले ६ खेलबाट ८ अंक जोडेको छ । आरसीटीले ६ खेलमा ६ अंक जोडेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।