एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले ब्राजिली स्टार नेयमार अनुबन्धनको बिषयलाई उच्च प्राथमिकतामा राखेको छ ।
बार्सिलोनाले क्लबका पुर्व स्टार नेयमारलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट फर्काउने बिषयमा बिशेष जोड दिने भएको हो ।
स्पेनिस महारथी क्लब नेयमारलाई बार्सिलोना फर्काएर लियोनल मेस्सीको जोडीको रुपमा युरोपेली क्लब फुटबलमा पुन प्रस्तुत गर्न चाहन्छ । जहाँ उरुग्वेका अन्तराष्ट्रिय फरवार्ड लुईस स्वारेज समेत रहेने छन् ।
नेयमार, मेस्सी र स्वारेजको जोडीले युरोपेली क्लब फुटबलमा ठुलो सफलता हासिल गरेको थियो । सोही सफलता दोह¥याउने लक्ष्य बार्सिलोनाले तय गरेको छ ।
क्लबका अध्यक्ष जोसेप बर्टेमेउ कार्यकाल समेत सन् २०२१ मा सकिदैछ । उनी उपाधि सहित आफ्नो कार्यकाल सक्न चाहन्छ । त्यसमा नेयमारले महत्वपूर्ण भूमिका खेल्न सक्ने बर्टेमेउको विश्वास छ ।
नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी मुल्य १ सय ९८ मिलियन पाउण्डमा फ्रेन्च राजधानी पेरिस पुगेका थिए । उनले पीएसजीमा शानदार प्रर्दशन गर्दै ८० खेलमा ६९ गोल समेत गरे ।
नेयमार समेत पछिल्लो समय स्पेन फर्कन चाहेका छन् । सो बिषयलाई पीएसजीले समेत ध्यानमा राखेको छ । व्यक्तिगत बिषय र चोटका कारण समेत पीएसजी अन्तिम समयमा नेयमारलाई बेच्न तयार देखिएको हो ।
पीएसजीले नेयमारलाई बेच्न १ सय ३५ मिलियन पाउण्डको मुल्य राखेको थियो । सोही मुल्य नेयमार अनुबन्धनमा समस्या पार्न सक्ने धेरैको अनुमान छ ।
नेयमारलाई बार्सिलोनाले उच्च प्राथमिकतामा राखेसंगै लौरेन्टो मार्टिनेज अनुबन्धनको प्रयास अन्यौलमा परेको छ ।
नेयमारलाई जोड्नु अघि बार्सिलोनाले ईन्टर मिलानका फरवार्ड मार्टिनेजलाई करिब सय मिलियन पाउण्डमा अनुबन्धनको तयारी गरेको थियो ।
पछिल्लो समय बार्सिलोना आरबी लाईपिजिगका फरवार्ड टिमो वार्नरमाथि समेत नजर लगाईरहेको छ । जर्मन फरवार्डले बुन्डेशलिगामा राम्रो समय बिताईरहेका छन् ।
बार्सिलोनाले ५५ मिलियन पाउण्डमै वार्नरलाई पाउने भएकाले जर्मन फरवार्ड समेत स्पेन आउने सम्भावना प्रवल छ ।