काठमाडौं । निर्वाचन लगत्तै बैशाख २४ गते बसेको एन्फा कार्यकारिणी समितिको पहिलो बैठकमा अध्यक्ष कर्माछिरिङ शेर्पाले फिफा कंग्रेसमा प्रतिनिधित्व गर्ने तीन जनाको नाम प्रस्ताव गरे ।
सूचीमा थिए, मताधिकारसहित आफु अनि महासचिव इन्द्रमान तुलाधार र नविन पाण्डे ।
अध्यक्ष र महासचिवमा नाममा कसैको विमती रहेन । तर पाण्डेलाई फिफा कंग्रेसमा लैजान नहुने भन्दै एन्फा कार्यकारिणी बैठकमा विरोध भयो ।
कार्यसमिति सदस्यले तीन सदस्यीय नेपाली प्रतिनिधिमा पाण्डेको नाम नराख्न अध्यक्षलाई सुझाए ।
राष्ट्रको प्रतिनिधित्व हुने फिफा कंग्रेसमा विदेशी नागरिकलाई प्रतिनिधि बनाउने निर्णय गर्दा विवादको घेरामा परिने तर्क कार्यसमिति सदस्यको थियो ।
बरु कर्मचारी वा अन्य कुनै हैसियतमा पाण्डेलाई रुसको मस्को बैठकमा सहभागी गराउन कार्य समिति सदस्यहरुले अध्यक्ष शेर्पालाई सुझाए ।
तर अध्यक्ष शेर्पाले अध्यक्षको ‘भिटो’ प्रयोग गरेर पाण्डेको नाममा निर्णय गराए । र मस्कोमा बसेको फिफा कंग्रेसमा आफुसँगै सहभागि गराए ।
निर्णयमा चर्को असन्तुष्टि जनाउने मध्यका एक थिए, मानार्थ अध्यक्ष टासी घले । निर्णय चित्त नबुझे अदालत जान मानार्थ अध्यक्ष घलेलाई बैठकको अध्यक्षता गरिरहेका शेर्पाले ठाडो जवाफ दिए ।
पाण्डेलाई फिफा पठाउने शेर्पाको सो निर्णयको सार्वजनीक रुपमा खुवै आलोचना भयो । पारदर्शीता, संस्थागत निर्णय र परिवर्तनको नारा सहित नेपाली फुटबलको बागडोर समाल्न पुगेका शेर्पालाई पहिलो गाँसमै ढुङ्गा लाग्यो ।
एन्फा नेतृत्व सम्हाले लगत्तै शेर्पाले नेपाली सिनियर फुटबल टिममा केही परिवर्तन गरे । पुरुष टिमको सहायक प्रशिक्षकमा रहेका राजुकाजी शाक्यलाई हटाउदै सो जिम्मेवारीमा बालगोपाल महर्जनलाई नियुक्त गरे । महिला टिमको जिम्मेवारी पुर्व राष्ट्रिय खेलाडी हरि खड्कालाई दिए ।
महर्जन र खड्का तिनै पात्र थिए,जो एन्फा निर्वाचनमा शेर्पाको पक्षमा खुलेरै लागेका थिए । जिम्मेवारीबाट हटाईएका शाक्य तिनै व्यक्ति थिए, जसलाई एन्फा पुर्व अध्यक्ष गणेश थापाको निकट मानिन्थ्यो । एन्फा नेतृत्वमा पुग्ने वित्तिकै शेर्पाले शाक्यलाई प्रतिशोधका आधारमा प्रशिक्षकबाट हटाए । प्रतिशोधको गरिएको निर्णयको स्विकारोक्ति स्वयम शेर्पाले एक टेलिभिजन अन्तरवार्तामा गरेका छन् ।
राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षकमा खड्काको नियुक्तिमा धेरै फुटबल प्रशिक्षकले चित्त दुखाए । खड्कासंग न कुनै क्लबको नेतृत्व गरेको अनुभव थियो । प्रशिक्षकको रुपमा न गतिलो रेकर्डनै थियो । थियो त केवल निर्वाचनमा शेर्पालाई गरेको सहयोग । निर्वाचन जिते लगत्तै शेर्पाले चुनावमा लगाएको गुण तिरेर खड्का र महर्जनप्रति इमान्दारी प्रदर्शन गरे ।
शर्पाको अध्यक्षमा आगमनसंगै एन्फामा मनोनयन हुने र मानार्थ थाप्नेको लर्कोनै लाग्यो । जन आकर्षण र गतिविधिका हिसावले अखिल नेपाल फुटबल संघ एन्फा नेपाली खेलकुदको सर्वाधिक व्यस्त संस्था हो । यस हिसावमा फुटबलमा धेरै जनशक्ति एन्फालाई आवश्यक पनि छ । तर अघिल्लो नेतृत्वको शैली र आचरण अनुसार एन्फाभित्र जसरी शेर्पाले मानार्थ सदस्यदेखि पदाधिकारीको लर्को लगाएका छन् यसले उनैकै परिवर्तनको नारालाई गिज्याएको देखिन्छ ।
शेर्पाको ३ महिने कार्यकालको सबै भन्दा विवादास्पद निर्णय रेलिगेशन विनाको लिग हुन पुग्यो । लिग फुटबलको प्राण र सुन्दरता भनेकै क्लबहरुको बढुवा र घटुवा हो ।तर लिगको मर्ममै प्रहार हुने गरि एन्फाले गरेको निर्णयको फुटबल प्रशंसहरुले विरोध गरे । तर अध्यक्ष शेर्पा रेलिगेशन विनाको लिग गराउने अड्डीमा कायम मात्रै भएनन् । विशेष साधारणसभाबाट अनुमोदन नै गराए । धेरेलै एन्फा नेतृत्वको निर्णयलाई ‘लटरपटर’को संज्ञा दिए । कतिपयले एन्फा नेतृत्व नेपाली फुटबलमाथि ‘चिरहरण’ गर्न उद्धत रहेको संगीन आरोप लगाए ।
तर शेर्पाले यति गम्भिर बिषयमा कहिल्यै छलफलमा गर्न आवश्यकनै ठानेनन् । विचार विमर्शमा देखिनै चाहेनन् । एन्फा नेतृत्वमा आए लगत्तै शेर्पा धेरै विवादास्पद निर्णयमा फसे ।
तर यसको उत्तर दिन उनले पटक्कै जाँगर चलाएनन् । अझ भनौ मानेनन् । हिजो उनी विद्रोही थिए, बोल्न चाहन्थे । आज शासक बनेका छन्, प्राय शासकलाई प्रश्नहरु मन पनि पर्दैन । प्रश्न परिवर्तन हुन्छन्, शासकको शैली परिवर्तन हुँदैन । यहाँनेर चेन्ज एन्फा भन्ने शेर्पाको नाराले उनैलाई नराम्ररी गिज्यायो ।
तर,बिर्सन नहुने एउटा तथ्य छ ।
नेपाली फुटबल अहिले संक्रमणकालिन अवस्थामा छ । गणेश थापाले दुई दशक नेतृत्व गरेको एन्फाको बागडोर शेर्पाको हातमा आईपुगेको छ । नेपाली फुटबलमा थापाले दुई दशक राज मात्र गरेनन् । एउटा जहानियाँ व्यवस्थानै स्थापित गरे ।
तर यो समय व्यवस्था परिवर्तनको हो । प्रश्न, एन्फामा कस्तो संस्कार र पद्धतीको बसाल्ने भन्ने हो ।
सबैले मौका पाउदैनन्, मौका पाउनेले गर्दैनन् ।
नेपाली फुटबलको भविष्यको नक्सा कोर्ने अवसर समयले एक पटक शेर्पालाई दिएको छ । उनी कत्तिको खरो उत्रन्छन्, त्यसैमा उनको सफलता र असफलता निर्भर गर्नेछ ।
दुई दशकको अवधिमा एन्फाभित्र धेरै फोहर जमेर बसेको छ । एकलौटी ढङ्गले चलेको संस्थालाई सहि ‘ट्रयाक’मा ल्याउन हरेक नेतृत्वलाई समय लाग्छ । त्यो छुट शेर्पालाई समेत छ । तर सुरुवाती तीन महिनाको शेर्पाको हनिमुन पिरियड नेपाली फुटबलले सुखद महशुश गरेन भन्ने हो ।
एन्फाले साउन ३० मा चितवनको सौराहमा विशेष साधारण सभाको आयोजना गरेको थियो ।
एजेण्डा थियो, विधान संशोधन ।
साथै कर्मचारी नियमावली, आर्थिक नियमावली, संघ सञ्चालन सम्बन्धि नियमावली समेत संशोधन गरि पारित भएको कार्यसुचि समेत तय गरेको थियो ।
साधारण सभाको साँझ शेर्पा दबाब मुक्त देखिन्थे । उनको भनाई मान्ने हो भने, विधी विधानमा अनुसार एन्फा चलाउने कामको विधिवत सुरुवात विशेष साधारण सभाको दिनबाट भएको छ ।
शेर्पाका अनुसार सभाले पारित गरेको विधान, नियमावली रहेर अब नेतृत्वले एन्फा चलाउनेछ ।
शेर्पाका सय दिने कार्यकालमा नेपाली फुटबलमा केही राम्रा काम नभएका भने होईनन् ।
महिला फुटबलको उर्वर भुमि मानिने रौतहटमा एन्फाले महिला एकेडेमी खोल्ने निर्णय गरेको छ । त्यस्तै सिनियर टिमलाई विभिन्न अन्तराष्ट्रिय मैत्रिपुर्ण म्याचकालागि तयार गर्न नियमित अभ्यास सुरु गरेको छ ।
यस्तै, साउथ वेस्ट एसियन फुटबल फेडेरेसन (स्वाफ)को सदस्यमा शेर्पा निर्वाचित भएका छन् । दक्षिण एसियाली फुटबल महासंघमा मात्र निर्भर हुदै आएको नेपालले अब स्वाफ जस्तो बलियो क्षेत्रिय संगठनमा उपस्थिती देखाएको छ । यसको फाईदा नेपाली फुटबलले आगामी दिनमा पाउनेनै छ ।
अन्तिममा,
नेपाली फुटबलमा बिद्रोहले जन्माएको नेतृत्व हो, कर्माछिरिङ शेर्पा ।
विद्रोहपछि हरेकमा परिवर्तनको आश हुन्छ । नेतृत्वप्रति अपेक्षा जोडिन्छ । शेर्पासंग गरिएको पनि त्यही अपेक्षा हो । नेतृत्वले अपेक्षालाई कुल्चिने होईन, सम्बोधन गर्न सक्नुपर्छ । शेर्पा त्यसमा चुकेका छन् । हुन त अपेक्षाको भारीले किचिने गरी थलिने मान्छे शेर्पा हैनन् । त्यसैले उनी अहिले फुटबलमा नीति बनाउन लागेको भन्छन् । ।
बुझ्नु पर्ने कुरा के हो भने नीति बनाएर मानिसको नियत परिवर्तन गर्न सकिंदैन ।
शेर्पाको हकमा पनि अहिले नै उनको नियतमाथि प्रश्न उठाउने ठाउँ भएको छैन । तर, अबेर भयो र नारा परिवर्तनकामी र व्यवहार पुरातन भएमा शेर्पाले सधैं सन्देहको लाभ उठाइरहन पाउँदैनन् ।
एन्फालाई आसेपासेको मात्र होईन, सबैको बनाउने उदारता शेर्पाले देखाउन सकेका छैनन् ।
साउन ३० को विशेष साधारण सभाको अन्तिम तिर शुन्य समयमा उठेका प्रश्नको जवाफ दिने क्रममा शेर्पाले भनेका थिए, ‘पाण्डेलाई फिफाले लगेर एन्फालाई के घाटा भयो ?’
शेर्पाको दाबी थियो, ‘पाण्डेकै सक्रियतामा हामीले धेरै आर्थिक रकम जुटाउन सफल भयौ ।’
तर, शेर्पाले भुल्न नहुने एक तथ्य, बलात्कारपछि जन्मिएको बच्चा आईन्सटाईन बन्छ भनेपनि बलात्कारलाई सही हो भनेर त कसरी भन्न सकिन्छ र ?