एजेन्सी । नक्कली कागजात प्रयोग गरेको अभियोगमा पक्राउ परेका ब्राजिली लिजेण्ड फुटबलर रोनाल्डिन्होलाई पुर्पक्षका लागि हिरासतमा राख्न पराग्वेका अदालतले आदेश दिएको छ ।
गत बुधबार पक्राउ परेका रोनाल्डिन्होलाई शनिबार अदालतले हिरासतमा राख्न अनुमति दिएको हो । रोनाल्डिन्हो आफ्नो वकिलसहित शनिबार अदालतमा उपस्थित भएका थिए ।
न्यायाधीस क्लारा रुइज डियाजले दुवैले पराग्वेको हितविरुद्ध गम्भीर अपराध गरेको जनाउँदै उनीहरुलाई हिरासतमा राख्न अनुमति दिएको हो ।
रोनाल्डिन्होसँगै उनका भाइ रोबर्टो पनि पक्राउ परेको थिए । दुवैले पराग्वेको नक्कली पासपोर्ट बोकेको कारण पक्राउ गरिएको बताईएको छ ।

रोनाल्डिन्हो एक क्यासिनो मालिक नेल्सन बेलोट्टीको निमन्त्रणामा पराग्वे पुगेको स्थानीय प्रहरीले बताएको छ ।
रोनाल्डिन्होसँग अहिले ब्राजिलको पासपोर्ट समेत छैन । सन् २०१८ मा वातावरणीय जरिवानासँगै उनको पासपोर्ट खोसिएको थियो ।
सन् २००२ मा ब्राजिलले विश्वकपको उपाधि जित्दा रोनाल्डिन्हो मुख्य खेलाडी थिए ।
फिफा प्लेयर अफ दि इयर, बालोन डी'ओर जस्ता उपाधि जितेका रोनाल्डिन्होले बार्सिलोना, एसी मिलान लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।