एजेन्सी । इंग्ल्यान्डका पूर्व स्टार डेभिड बेकह्यामको क्लब इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा लगातार दोस्रो हार व्यहोरेको छ ।
आइतबार बिहान भएको पहिलो खेलमा डिसी युनाइटेडसँग २-१ ले पराजित हुँदै मियामीले लगातार दोस्रो हार व्यहोरेको हो ।
यस अघि डेब्यु खेलमा मियामी लस एन्जल्स फुटबल क्लबसँग १-० गोल अन्तरले पराजित भएको थियो ।
खेलको दोस्रो मिनेटमा रोडोल्फो पिजारोले गोल गर्दै मियामीलाई सुरुवाती अग्रता दिलाएका थिए । मियामीको यो लिगमा पहिलो गोल हो ।
तर, दोस्रो हाफमा डिसी खेलमा फर्कियो । खेलको ५९ औं मिनेटमा रोमन टोरेसले ह्याण्डबल गरेपछि डिसीले पेनाल्टी पायो । जसमा डिसीका यामील असादले गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै टोरेसले रातो कार्ड पाउँदा मियामी १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ६१ औं मिनेटमा फ्रेडरिक ब्रिलियन्टले गोल गर्दै डिसीलाई २-१ को जित दिलाए ।
बेकह्याम अध्यक्ष रहेको मियामीले यस सिजनबाट पहिलो पटक एमएलएस लिग खेलिरहेको हो ।