एजेन्सी । लियोनल मेस्सीको गोलमा बार्सिलोना स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १–० गोल अन्तरले हराएको हो ।
खेलको ८१ औ मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए ।
सोसिडाडका रोबिन डी नर्मान्डको ह्याण्ड बलमा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो ।
यसै सिजन सरुवा गरिएका मार्टिन ब्रेथवेटले पहिलो हाफमा केही राम्रा आक्रमण बुनेका थिए । जसलाई सोसिडाडका गोलकिपर एलेक्स रिमिरोले असफल पारेका थिए ।
बराबरीतर्फ उन्मुख खेलमा मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए । चालू सिजनमा मेस्सीले १९ औं लिग गोल पुरा गरेका छन् ।
बार्सिलोना ५८ अंक सहित तालिकाको शीर्ष स्थानमा फर्किएको छ । दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक छ ।
सोसिडाड ४३ अंक सहित तालिकाको छैटौ स्थानमा यथावत छ ।