एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार भएको खेलमा लिभरपुलले बर्नेमाउथलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर लिभरपुलले जित निकालेको हो । लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेले एक एक गोल गरे । बर्नेमाउथका कलुम विल्सनले एक गोल गरे ।

एनफिल्डमा खेलको नवौं मिनेटमा विल्सनले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका थिए । तर, खेलको २५ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । त्यसपछि खेलको ३३ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए ।
जितसँगै लिभरपुलले २९ खेलमा ८२ अंक जोडेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २५ अंकको अग्रता बनाएको छ ।
बर्नेमाउथ २७ अंक जोडेर पुछारबाट तेस्रो स्थानमा रहेको छ ।