काठमाडौं । मछिन्द्र क्लबले माईभ्याली गोल्डकपको छैटौं संस्करणको उपाधि जितेको छ ।
शनिबार ईलामको टुँडिखेलमा भएको फाईनलमा आयोजक माईभ्याली क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि उचालेको हो ।
दाेस्राे हाफकाे ईन्जुरी समयमा विदेशी खेलाडी आन्द्रेस नियाले मछिन्द्रका लागि विजयी गोल गरे ।
मछिन्द्रले पहिलो पटक माईभ्याली गोल्डकपको उपाधि उचालेको हो ।
दुवै टिम पहिलो पटक फाईनल पुगेका थिए ।
मछिन्द्रले सिजनको तेस्रो उपाधि हात पारेको छ । मोफसलमा भने मछिन्द्रको यो दोस्रो गोल्डकप उपाधि हो ।
उसले यसअघि झापामा भएको सताक्षी गोल्डकपको उपाधि जितेको थियो । यस बर्षको लिग च्याम्पियन बनेको मछिन्द्र बुढाशुब्बा गोल्डकपमा फाईनल यात्रा तय गर्न सकेन ।
उपाधिसंगै मछिन्द्रले ८ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आयोजकले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।