एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) राति विभिन्न सात खेलहरु हुँदैछ ।
शनिबार लिगमा लिग लिडर लिभरपुल, आर्सनल, टोटनहम लगायतका टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
लिभरपुलले घरेलु मैदानमा बर्नेमाउथसँग खेल्नेछ । एनफिल्डमा हुने खेल नेपाली समय अनुसार ६:१५ मा सुरु हुनेछ ।
अघिल्लो खेलमा वाट्फोर्डसँग स्तब्ध लिभरपुल घरेलु मैदानमा जित निकाल्दै उक्त हारको पीडा भुलाउन चाहन्छ । लिगको २७ खेलसम्म अपराजित लिभरपुललाई वाट्फोर्डले ३-० ले स्तब्ध बनाएको थियो ।
लिगमा लिभरपुल २८ खेलमा ७९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बर्नेमाउथमाथि जित निकाल्दै लिभरपुल उपाधि होड थप बलियो बनाउन चाहन्छ ।
यता, बर्नेमाउथ भने २७ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ ।
आर्सनलले घरेलु मैदानमा वेष्ट ह्यामको सामना गर्नेछ । त्यस्तै टोटनहमले बर्नलीसँग उसैको मैदानमा खेल्नेछ ।
क्रिस्टल प्यालेसले वाट्फोर्डसँग खेल्दा सेफिल्ड युनाइटेडले नर्विचसँग खेल्नेछ ।
अन्य खेलमा साउथह्याम्पटन र न्युकासल तथा वुल्भ्स र ब्राइटनबीच खेल हुनेछ ।