एजेन्सी । लिभरपुलका गोलकिपर एलिसनले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको एट्लेटिको मड्रिडबिरुद्धको खेल गुमाउने भएका छन् ।
हिपमा चोट लागेका कारण उनी च्याम्पियन्स लिगको आगामी खेलबाट बाहिरिएका हुन् । एलिसनले शनिबार हुने प्रियिमर लिगको वर्नेमाउथबिरुद्धको खेल समेत गुमाउनेछन् ।
लिभरपुलले आगामी बुधबार एट्लेटिको मड्रिडलाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्दैछ । पहिलो लेगको खेलमा एट्लेटिकोले लिभरपुललाई १–० ले हराएको थियो ।
'हामीले अवस्थाको मुल्याङ्कन गर्न आवश्यक छ । अन्तराष्ट्रिय बिश्रामपछि उनी शतप्रतिशत आउनेछन् । त्यस अगाडी हामी उनलाई हेर्नेछौ ।' लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले भनेका छन् ।
एलिसन चोटकै कारण ब्राजिली टिमबाट समेत बाहिरिएका छन् । उनले विश्वकप छनोटको बोलिभिया र पेरुसंगको खेल समेत गुमाउनेछन् ।
ब्राजिलका अन्तराष्ट्रिय खेलाडीले यस सिजन लिभरपुलबाट २८ खेल खेलेका छन् । उनी मंगलबार एफ ए कपको पाँचौ चरणमा चेल्सीसंग पराजित हुने क्रममा चोट बोकेका थिए ।
एलिसन विश्वको महङ्गो गोलकिपरको रुपमा सन् २०१८ मा रोमाबाट लिभरपुल आएका थिए ।