काठमाडौं । फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत चाईनिज ताईपे र अष्ट्रेलियासँगको घरेलु खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार राष्ट्रिय टिमको प्रशिक्षण स्थगित गरिएको जनाएको छ । विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड १९) को सम्भावित संक्रमणबाट जोगिन राष्ट्रिय टिमको तयारी स्थगित गरिएको जनाएको छ ।
आगामी चैत १३ गते चाईनिज ताईपे र चैत १८ गते अष्ट्रेलियासँग हुने खेलको लागि राष्ट्रिय टिमले सातदोबाटोस्थित एन्फा मैदानमा तयारी गरिरहेको थियो ।
सहिद स्मारक 'ए' डिभिजन लिग सकिए लगत्तै स्विडिस प्रशिक्षक जोहान कालिनले ३३ सदस्यीय प्रारम्भिक टिमलाई प्रशिक्षणमा बोलाएका थिए ।
कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल समूह बीमा रहेको छ । ५ खेल खेलको नेपाल १ जितसहित ३ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।
यस्तै एन्फाले उप मेयर कप महिला लिग फुटबल समेत तोकिएको मिति भन्दा ढिला हुने जनाएको छ । एन्फाले लिगको पहिलो चरणको खेल धरान रंगशाला चैत ३ गतेबाट सुरु हुने जनाएको छ ।
एन्फाले जिल्लामा जारी सम्पूर्ण फुटबल गतिविधि समेत स्थगित गरिएको जनाएको छ ।
एन्फाले चलिरहेको प्रतियोगिता भने स्थगित नहुने जनाएको छ ।
विश्वभर फैलिदै गएको कोरोनाको सम्भावित संक्रमणबाट बच्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहिबार मात्र चलिरहेका खेलकुद गतिविधिहरु स्थगित गर्न सम्बन्धित निकायलाई पत्र काटेको थियो ।
त्यस्तै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीले बिहीबार मात्रै आफ्ना एसियाली सदस्य राष्ट्रलाई आगामी फिफा विश्वकप छनोटका खेल स्थगित गर्न पत्र पठाएको थियो ।