काठमाडौं । फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत चाईनिज ताईपे र अष्ट्रेलियासँगको घरेलु खेलका लागि तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण नरोकिने भएको छ ।
विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड १९) को सम्भावित संक्रमणबाट बच्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहिबार चलिरहेका खेलकुद गतिविधिहरु स्थगित गर्न सम्बन्धित निकायलाई पत्र काटेको थियो ।
तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाईरसले राष्ट्रिय टिमको तयारीमा कुनै असर नपर्ने हुँदा तत्कालको लागि प्रशिक्षण नरोकिने बताएको छ ।
‘अहिलेनै राष्ट्रिय टिमको अभ्यास रोक्नुपर्छ जस्तो लाग्दैन । तयारी जारी रहन्छ । त्यस्तो रोक्नैपर्ने अवस्था अहिलेनै आएको छैन,’ एन्फा महासचिव इन्द्रमान तुलाधरले खेलपाटीसँग भने ।
आगामी चैत १३ गते चाईनिज ताईपे र चैत १८ गते अष्ट्रेलियासँग हुने खेलको लागि राष्ट्रिय टिमले सातदोबाटोस्थित एन्फा मैदानमा तयारी गरिरहेको छ ।
सहिद स्मारक 'ए' डिभिजन लिग सकिए लगत्तै स्विडिस प्रशिक्षक जोहान कालिनले ३३ सदस्यीय प्रारम्भिक टिमलाई प्रशिक्षणमा बोलाएका थिए । तर, मोफसल प्रतियोगिता चलिरहेका कारण भने सबै खेलाडी प्रशिक्षणमा आएका छैनन् ।
राखेपले खेल रोक्न निर्देशन दिएपनि एन्फाले अहिले 'बी' डिभिजन लिगसँगै मोफसलका प्रतियोगिता संञ्चालन गरिरहेको छ । 'बी' समापनसँगै एन्फाले 'सी' डिभिजन लिग र महिला लिग पनि आयोजना गर्ने कार्यक्रम रहेको छ । तर, यी प्रतियोगितालाई जारी राख्ने कि स्थगित गर्ने भन्नेबारे शुक्रबारनै एन्फाले छलफल गर्दैछ ।
‘हाल बि डिभिजन लिग पनि चलिरहेको छ । यस्तै महिला लिग पनि गर्ने तयारी गरेका छौं । यिनीहरुलाई रोक्ने कि के गर्ने भन्ने बारे आज (शुक्रबार)नै हाम्रो छलफल हुन्छ । त्यसै अनुसार हामी अगाडि बढ्छौं ।’ महासचिव इन्द्रमान तुलाधरले भने ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ एएफसीले बिहीबार मात्रै आफ्ना एसियाली सदस्य राष्ट्रलाई आगामी फिफा विश्वकप छनोटका खेल स्थगित गर्न पत्र पठाउने बताएको छ ।
कतारमा आयोजना हुने फिफा बिश्वकप अन्तर्गत एसिया छनोटमा नेपाल समूह बीमा रहेको छ । ५ खेल खेलको नेपाल १ जितसहित ३ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ ।
४ खेलबाट १२ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा रहँदा ५ खेल खेलेको कुवेत १० अंक सहित दोस्रो स्थानमा छ । समान ५ खेलबाट १० अंक जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा एक अंक पनि जोड्न नसकेको चाईनिज ताईपे पुछारमा रहेको छ ।