काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले विश्वकपको एसिया छनोट र एसियन कपको छनोट खेल स्थगित गर्ने निर्णय गरेको छ ।
विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै फिफा र एएफसीले एसिया राष्ट्रका सदस्यहरुलाई खेल स्थगित गर्न प्रस्ताव गरेको छ ।
फिफा र एएफसीले छनोट खेलको नयाँ मिति सम्बन्धित देशका संघलाई पछि उपलब्ध गराउने बताएको छ ।
फिफा र एएफसीको प्रस्तावसँगै विश्वकप र एसियन छनोट अन्तर्गत नेपाल र अष्ट्रेलिया तथा नेपाल र चाईनिज ताईपेबीचको खेल स्थगित हुने भएको छ ।
अष्ट्रेलियाले यसै महिना काठमाडौंको दशरथ रंगशालामा विश्वकप छनोटको दोस्रो लेगको खेल नेपालसँग खेल्ने तालिका रहेको छ । मार्च ३१ मा नेपाल र अष्ट्रेलिया दशरथ रंगशालामा खेल्ने तय छ ।
त्यसको ५ दिन अघि नेपालले दशरथ रंगशालामै चाईनिज ताईपेसंग विश्वकप छनोटको दोस्रो लेग खेल्दैछ ।
विश्वकप छनोट अन्तर्गत अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक ३१ सदस्यीय टिम घोषणा गरिसकेको छ ।
घोषित टिमका अधिकांश सदस्य अहिले राष्ट्रिय टिमको प्रशिक्षणमा व्यस्त छन् ।
विश्वकप छनोटको समूह चरणको चारै अवे खेल खेलिसकेको नेपालले अब बाँकी खेल घरेलु मैदानमा खेल्नेछ । दशरथ रंगशाला तयार नभएको अवस्थामा कुवेतविरुद्धको होम गेम नेपालले भुटानमा खेलेको थियो ।
नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो । अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।