इलाम । आयोजक माईभ्याली क्लब इलाम छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
इलामको टुँडिखेलमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै आयोजक माईभ्याली फाइनलमा पुगेको हो ।
खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर पनि ३-३ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।
टाइब्रेकरमा आयोजकका देव लिम्बु, एन्ड्रो थियर यिबाक, लिला क्षेत्री, पासाङ शेर्पाले गोल गर्दा शरण बस्नेतको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाएका थिए । विशाल तामाङको प्रहार बाहिरिएको थियो ।
आर्मीका दिपक गुरुङ, दिप लामा, राजीव गुरुङ र राजु आलेले गोल गर्दा सन्तोष तामाङ, इश्वरी बानिया र भरत चौधरीको प्रहार बाहिरिएको थियो।
पेनाल्टी अघि खेलको ३४ औं मिनेटमा करण राईले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा सन्तोष तामाङले फ्रिकिकमा गोल गर्दै आर्मीलाई १-१ को बराबरीमा ल्याएका थिए ।
खेलको अतिरिक्त समयमा आर्मीका विवेक बस्नेतले दोहोरो पहेलो कार्ड खादै बाहिरिए पछि आर्मी १० खेलाडीमा सिमित भएको थियो ।
अब फाइनलमा आयोजकले मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मानेभञ्ज्याङ एफसी दार्जिलिङलाई ३-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र उपाधि नजिक पुगिसकेको छ ।
१० टिम सहभागी प्रतियोगिताको विजेताले नगद ८ लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख २५ हजार प्राप्त गर्ने छन् ।