काठमाडौं । आयोजक सहारा क्लब पोखरा १८ औं संस्करणको आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहिबार ब्रिगेड ब्वाईज क्लबलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै सहारा क्वाटरफाइनलमा पुगेको हो ।
१० खेलाडीमा सिमित सहाराका लागि त्रिदेब गुरुङले दुई गोल गरे । यस्तै सीवी उल्रीचले एक गोल थपे ।
ब्रिगेडका राजेश परियार र विजय गुरुङले एक एक गोल फर्काए ।
पहिलो हाफमै १० खेलाडीमा सिमित आयोजकले सुरुवाती गोलको अग्रता उल्टाएर जित निकालेको हो ।
खेलको २५ औँ मिनेटमा जीवन रायमाझीले दोहोरो पहेली कार्डसहित रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।
तर, ब्रिगेडले दोस्रो हाफमा मात्र अग्रता बनाउन सक्यो । खेलको ५८ औं मिनेटमा राजेशले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाए ।
६२ औं मिनेटमा उल्रीचले गोल गर्दै आयोजकलाई खेलमा फर्काए । ६८ औं मिनेटमा विजयले गोल गर्दै ब्रिगेडलाई २-१ को अग्रता दिलाए । तर, खेलको ७९ औं मिनेटमा त्रिदेबले गोल गर्दै सहारालाई २-२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि थप गरिएको अतिरिक्त समयको दोस्रो हाफमा त्रिदेबले व्यक्तिगत दोस्रो गोल गर्दै सहारालाई ३-२ को जित दिलाए ।
अब सहाराले क्वाटरफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार एपीएफ क्लब र झापा-११ बीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।