काठमाडौं । आयोजक सुदुरपश्चिम-११ ले चौंथो संस्करणको खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ ।
धनगढी रंगशाला मंगलबार भएको फाइनलमा 'ए' डिभिजन लिग क्लब थ्री स्टारलाई १-० गोल अन्तरले पराजित गर्दै सुदुरपश्चिम च्याम्पियन बनेको हो ।
आयोजक सुदुरपश्चिमलाई उपाधि दिलाउन बिक्रम सिंह ठकुरीले निर्णायक गोल गरे । उनले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरे ।
फ्रिकिक बलमा थ्री स्टारका डिफेन्डर अनन्त तामाङले हेडबाट अशोक खवासलाई दिएको ब्याकपासलाई नियन्त्रणमा लिदै बिक्रमले जाली चुमाएका थिए । प्रतियोगिताको यो उनको पाँचौं गोल समेत हो ।
त्यसअघि खेलको २० औं मिनेटमा बिक्रमकै प्रहार थ्री स्टारका कप्तान बिक्रम लामाले गोल लाइनबाट क्लियर गरेका थिए ।
खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका माधव भण्डारी चुनिए ।

सुदुरपश्चिमले पहिलो पटक घरेलु प्रतियोगिताको उपाधि जितेको हो । यस्तै सुदुरपश्चिम-११ खप्तड गोल्डकपको नयाँ च्याम्पियन समेत बनेको छ ।
उपाधिसँगै सुदुरपश्चिमले २१ लाख १ रुपैया प्राप्त गरेको छ । थ्री स्टारले १० लाख १ रुपैयामा चित्त बुझायो ।
सुदूरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।